म्याग्दी क्याम्पसको रजत जयन्ती मनाइयो
धिरन खत्री /विकल्प न्यूज
म्याग्दी,पुस १८ गते ।
बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसको २५ औ वार्षिक उत्सव तथा रजत जयन्ती शनिबार बिबिध कार्यक्रमको आयोजना गरि मनाइएको छ ।
वार्षिक उत्सवको अवसरमा बेनी बजारमा प्रभातफेरी, जिल्ला अस्पतालका बिरामीहरुलाई पौष्टिक आहार र विद्यार्थीहरुलाई छात्रवृत्ती तथा पुरस्कार वितरण गरिएको हो । क्याम्पस परिसरबाट सुरु भएको प्राध्यापक, सञ्चालक समितिका पदाधीकारी, विद्यार्थीहरु सहभागि ¥यालीले बजार परिक्रमा गरेको थियो ।
¥यालीपछि जिल्ला अस्पतालमा उपचाररत २६ जना बिरामीहरुलाई स्वास्थ्य लाभको कामना गर्दै दूध र हर्लीक्स वितरण गरिएको थियो । यसैगरी क्याम्पसको आन्तरीक स्रोतबाट स्नातक तहमा अध्ययनरत १०३ जना विद्यार्थीहरुलाई चार लाख ५१ ह्जार १५० रुपैयाँ छात्रवृत्ती वितरण गरिएको क्याम्पसले जनाएको छ ।
सोही अवसरमा दशजोड दुई र स्नातक तहमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई कलावती छात्रवृत्ती कोष, दलबहादुर स्मृती अक्षयकोष र पवी बलभक्त छात्रवृत्ती कोषबाट छात्रवृत्ती वितरण गरिएको थियो । उच्च माध्यमिक शिक्षा परिषद् र त्रिभुवन विश्व विद्यालयले लिएको परिक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरुलाई पनि क्याम्पसको तर्फबाट पुरस्कृत गरिएको थियो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकको प्रमुख आतिथ्यता, सहायक क्याम्पस प्रमुख श्रीधर सुवेदीको सञ्चालन, समितिका कोषाध्यक्ष सोमनाथ ढुंगानाको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख टिकाराम सापकोटाले क्याम्पसको बारेमा जानकारी गराउनुभएको थियो ।
वि.स २०४८ पौष १८ गते स्थापना भएको म्याग्दी बहुमुखी क्याम्पसमा शिक्षा, मानविकी र व्यवस्थापन संकायको दश जोड दुई तथा स्नातक तहमा एक हजार जना भन्दा धेरै विद्यार्थी अध्ययनरत छन् । समुदायद्धारा सञ्चालीत म्याग्दी बहुमुखी क्याम्पस जिल्लाकै जेठो क्याम्पस हो ।

प्रतिक्रिया राख्नुहोस्