म्याग्दीमा कांग्रेसका १६ वडामा अधिवेशन सम्पन्न, २९ वडामा भोली
बेनी, असोज ३ गते । नेपाली कांग्रेस म्याग्दीको ४५ वडामध्ये शनिबार १६ वडामा वडा अधिवेशन सम्पन्न भएको छ । बाँकी २९ वडामा आइतबार अधिवेशन हुँदैछ ।जिल्ला सचिव भरत रकालका अनुसार अन्नपूर्ण गाउँपालिकाका वडा नं. ३, ४, ६ र ७ तथा मालिका गाउँपालिकाका वडा नं. १, २, ३ र ६ मा वडा अधिवेशन सम्पन्न भएको हो ।
त्यसैगरी धवलागिरी गाउँपालिकाका वडा नं. ३, ६ र ७, रघुगंगा गाउँपालिकाका वडा नं. २ र ३, बेनी नगरपालिकाका वडा नं. ५ र ९ तथा मंगला गाउँपालिका–५ मा पनि नयाँ नेतृत्वसहित वडा कार्यसमिति चयन भएको उहाँले जानकारी दिनुभयो । जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले शनिबार सम्पन्न अधिवेशनहरूकै शैलीमा आइतबार हुने बाँकी वडाका अधिवेशन पनि मर्यादित, सहमतिमूलक, उत्साहजनक र लोकतान्त्रिक ढङ्गले सम्पन्न गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
उहाँले वडा अधिवेशनलाई पार्टीको आन्तरिक लोकतन्त्रलाई थप सुदृढ गर्ने अवसरका रूपमा लिएर आपसी समझदारी, सहकार्य र एकताका साथ अघि बढ्न आग्रह गर्नुभएको छ । आइतबार हुने २९ वडा अधिवेशनपछि कांग्रेस म्याग्दीको वडा तहको अधिवेशन प्रक्रिया पूरा हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्