बेनी नगरपालिकामा ७५ करोड ५२ लाख बढीको बजेट पारित
ठाकुरप्रसाद आचार्य
म्याग्दी, असार ९ गते । म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ७५ करोड ५२ लाख ७५ हजार रुपियाँ बराबरको बजेट नगरसभामा प्रस्तुत गरी पारित गरेको छ । मंगलबार सम्पन्न भएको १९ औं नगरसभामा बेनी नगरपालिकाकी उपप्रमुख ज्योति लामिछानेले उक्त बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
नगर उपप्रमुख लामिछानेले प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ ५६ करोड ४ लाख ५० हजार र पूँजीगत तर्फ १९ करोड ४८ लाख २५ हजार रुपियाँ बराबरको बजेट प्रस्ताव गरिएको छ । बजेटमा संघीय समानीकरण अनुदान ११ करोड ७४ लाख र संघीय राजश्व बाँडफाँड ९ करोड ४८ लाख ६ हजार रुपियाँ आयका रुपमा समावेश गरिएको नगरसभामा जानकारी दिनुभयो ।
गण्डकी प्रदेश सरकारको समानीकरण अनुदान एक करोड ५५ लाख ३९ हजार,गण्डकी प्रदेश सरकार सवारी साधन कर बाँडफाँडबाट एक करोड ९० लाख ७४ हजार, संघीय सर्शत कार्यक्रम ३८ करोड ८४ लाख, गण्डकी प्रदेश सरकार समपुरक र विशेष अनुदान तर्फ एक करोड रुपियाँ बजेटमा समावेश गरिएको छ ।
संघीय सरकार समपुरक अनुदान एक करोड ३७ लाख, संघीय विशेष अनुदान ७७ लाख,आन्तरिक आयको अनुमान ४ करोड ७९ लाख ५ हजार,मालपोत रजिष्ट्रेशन बाँडफाँड ७५ लाख,विज्ञापन कर,मनोरञ्जन कर र दहत्तर बिक्रीबाट प्राप्त हुने ६० प्रतिशतका दरले ४७ लाख ५० हजार गरी कुल ६ करोड एकलाख ५५ हजार रुपियाँ बजेटमा समावेश गरिएको छ ।
नगर उपप्रमुख लामिछानेले प्रस्तुत गर्नुभएको बजेटमा आर्थिक विकास तर्फ दुई करोड ६ लाख,कृषि विकास तर्फ ६५ लाख ५० हजार,पशुपन्छी तर्फ ४१ लाख ५० हजार,खानेपानी तथा सिँचाई व्यवस्थापन तर्फ बृहत घोप्टेखोला खानेपानी आयोजना कार्यान्वयन गर्न नगरपालिकाले बेहोर्ने साझेदारीका लागि ५० लाख र अन्य योजनाहरुका लागि ३९ लाख रुपियाँको बजेट प्रस्ताव गरिएको छ ।
यसैगरी संघ सरकारको विशेष अनुदान अन्तर्गत कार्यान्वयन हुने गरी वडा नम्बर २ मा चिसापानी गौश्वरा खानेपानी योजनाका लागि ७७ लाख रुपियाँ विनियोजन गरिएको उपप्रमुख लामिछानेले जानकारी दिनुभयो । प्रदेश सरकारको विशेष अनुदान अन्तर्गत कार्यान्वयन हुने गरी वडा नम्बर ३ मा तहलाआला–व्याडा–गिठिनी सिँचाई आयोजनाका लागि ४० लाख र खलखले अधेरीखोला डिप बोरिङ संभाव्यता अध्ययन तथा निर्माणका लागि १५ लाख ५० हजार रुपियाँ बजेट प्रस्ताव गरिएको छ ।
सिप र उद्यमशिलताको माध्यमबाट महिला तथा आमा समुहको सशक्तिकरण गर्न आमा समुहसँग उपमेयर कार्यक्रम सञ्चालन गर्न २० लाख र उद्यमशिलता,सीप विकास तथा रोजगारी प्रवद्र्धनका लागि ३६ लाख ८४ हजार रुपियाँ बजेट विनियोजन गरिएको छ । बेनी बजार भ्यू प्वाइन्टका रुपमा विकास गर्न लभ्लिहिल पर्यटन प्रवद्र्धनका लागि २५ लाख रुपियाँ बजेट प्रस्ताव गरिएको छ ।
बेनी नगरपालिकाको पर्यटन प्रवद्र्धनका लागि कुल एक करोड २२ लाख ५० हजार रुपियाँ बजेट विनियोजन गरिएको नगर उपप्रमुख लामिछानेले बताउनुभयो । उहाँका अनुसार पूर्वाधार विकास तर्फ सर्शत अनुदान बाहेक १३ करोड ८८ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ ।
नगर प्रमुख सुरत केसीले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट निर्माण गरिएको जानकारी दिनुभयो । नगर प्रमुख केसीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपप्रमुख लामिछानेले पेस गर्नुभएको बजेट छलफल पछि पारित भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्