रघुगङ्गाले ल्यायो ५६ करोड ४ लाख बढीको बजेट
ठाकुरप्रसाद आचार्य
म्याग्दी,असार ४ गते ।
म्याग्दीको रघुगङ्गाले गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि नीति तथा कार्यक्रम र बजेट सार्बजनिक गरेको छ । बिहिबार गाउँपालिका केन्द्र मौवाफाँटमा सम्पन्न २१ औं गाउँसभाले नीति तथा कार्यक्रम पारित गर्नुका साथै ५६ करोड ४ लाख २० हजार सातसय रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको हो । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम पारित भएसँगै उपाध्यक्ष प्रेमकुमारी पुनले आगामी आर्थिक वर्षका लागि उक्त बजेट गाउँसभामा प्रस्तुत गर्नुभएको थियो ।
शिक्षा,स्वास्थ्य,कृषि,पर्यटन,पशुपालन,ग्रामिण सडक सूचना प्रविधि र विपद् व्यवस्थापनलाई प्रमुख प्राथमिकतामा राखेर नीति तथा कार्यक्रममा ल्याइएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।
गाउँसभामा उपाध्यक्ष पुनले प्रस्तुत गर्नुभएको बजेटमा संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ९ करोड ३१ लाख रुपयाँ ,सर्शत अनुदान २२ करोड ७४ लाख रुपियाँ ,विशेष अनुदान एक करोड ५० लाख रपियाँ, समपुरक अनुदान ७० लाख गरी जम्मा ३४ करोड ३५ लाख रुपियाँ संघीय अन्तरसरकारी हस्तान्तरण अन्तर्गत बजेट प्राप्त हुने अनुमान गरिएको छ ।
यसैगरी गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान एक करोड एक लाख ७ हजार रुपियाँ,समपुरक अनुदान तर्फ ६० लाख रुपियाँ,विशेष अनुदान तर्फ ३९ लाख ९८ हजार गरी दुई करोड एकलाख ५ हजार रुपियाँ प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरणको बजेट प्राप्त हुने अनुमान गरिएको उपाध्यक्ष पुनले जानकारी दिनुभयो ।
गाउँसभामा प्रस्तु्त भएको बजेटमा संघीय सरकारको राजश्व बाँडफाँड १० करोड ६२ लाख ७७ हजार रुपिायँ ,प्रदेश राजश्व फाँडफाँडबाट एक करोड ५ लाख ३३ हजार रुपियाँ,आगामी आर्थिक वर्षका लागि आन्तरिक राजश्व तर्फ एक करोड ५ लाख रुपियाँ बजेटमा अनुमान गरिएको उपाध्यक्ष प्रेमकुमारी पुनले जानकारी दिनुभयो ।
यसैगरी चालु आर्थिक वर्षमा खर्च नभई बाँकी रहने ७ करोड ७६ लाखलाई पनि आन्तरिक आयका रुपमा बजेटमा समावेश गरिएको छ । शिक्षा,स्वास्थ्य,कृषि र ग्रामिण सडक स्तरोन्नतिलाई प्राथमिकतामा राखेर आगामी बजेट ल्याइएको उपाध्यक्ष पुनले बताउनुभयो ।
गाउँसभामा नीति तथा कार्यक्रम र बजेट माथि छलफल गरी बिहिबार नै पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिनुभयो ।
बजेटको पूरा पाठ यहाँ पढ्न सक्नुहुन्छ
उपाध्यक्षको बजेट वक्तव्य २०८३।८४ (1)

प्रतिक्रिया राख्नुहोस्