समीक्षा अधिकारीको संगीत दौड, एकैदिन सात गीत रेकर्डिङ
काठमाडौं । पछिल्लो समय नेपाली संगीत क्षेत्रकी लोकप्रिय र व्यस्त गायिकाका रूपमा उदाएकी समीक्षा अधिकारीले एकै दिनमा सात वटा नयाँ गीत रेकर्ड गरेकी छन् । विभिन्न सर्जक, संगीतकार तथा चलचित्रका लागि तयार पारिएका गीतहरू छोटो समयमै रेकर्ड भएपछि समीक्षा अधिकारीको व्यस्तता झनै बढेको देखिएको छ । नयाँ गीतहरू क्रमशः सार्वजनिक गरिने तयारी गरिएको छ ।
रेकर्ड गरिएका गीतमध्ये चलचित्र ‘१२ गाउँ’का लागि ‘रेशमी रुमाल’ शीर्षकको गीत तयार भएको छ । उक्त गीतमा डीपी खनालको शब्द, देवेन्द्र बरालको संगीत र उदय राज पौडेलको एरेन्ज रहेको छ । गीतमा निशान भट्टराई र समीक्षा अधिकारीको स्वर रहेको छ भने ए–वन म्युजिशियन स्टुडियोमा रेकर्ड गरिएको हो ।
यसैगरी ‘पिपल छ्यामा’ गीतमा सुमन पौडेलको शब्द तथा संगीत, बी.बी अनुरागीको एरेन्ज र सुशील आचार्य तथा समीक्षा अधिकारीको स्वर रहेको छ । उक्त गीत प्रिज्म रेकर्डिङ स्टुडियोमा तयार गरिएको हो । ‘रुन देउ मलाई’ गीतमा गम्भीर महताराको शब्द, वीरेन्द्र खड्काको संगीत तथा केशव बडुको एरेन्ज रहेको छ । वीरेन्द्र खड्काकै स्वर रहेको यो गीत सारेगम स्टुडियोमा रेकर्ड गरिएको हो ।
त्यस्तै ‘हाय मेरी आमा’ गीतमा ललिता श्रेष्ठको शब्द, सन्तोष प्रगाढको संगीत तथा एरेन्ज रहेको छ । समीक्षा अधिकारीको स्वर रहेको उक्त गीत द पिक स्टुडियोमा रेकर्ड गरिएको हो ।
‘तिम्रो ग्रीडा’ गीतमा श्याम बनियाँको शब्द, ओन प्रकाश राईको संगीत, स्याङ्जा हमालको एरेन्ज तथा समीक्षा अधिकारीको स्वर रहेको छ । यो गीत ओसन म्युजिक स्टुडियोमा तयार गरिएको हो ।
त्यसैगरी ‘डाँडै काटी’ गीतमा अशोक सापकोटाको शब्द, सफिक्स मदनको संगीत तथा एरेन्ज र समीक्षा अधिकारीको स्वर रहेको छ । गीत एरिका डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो ।
यसैबीच ‘सलालाला’ शीर्षकको गीतमा शिव श्रेष्ठको शब्द तथा संगीत, सुसान्त सापकोटाको एरेन्ज र भेनस केसीको स्वर रहेको छ । उक्त गीत सन्के रेकड्र्समा रेकर्ड गरिएको हो ।
छोटो अवधिमै सात गीतको रेकर्डिङ सम्पन्न भएपछि सम्बन्धित सर्जक तथा संगीतकर्मीहरूले यी गीतहरू क्रमशः सार्वजनिक गरिने बताएका छन् । नयाँ गीतहरूले नेपाली संगीत बजारमा नयाँ स्वाद थप्ने अपेक्षा गरिएको छ ।
गीत रेकर्ड पछि गायिका अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा लेखिकि छन् ‘‘ धेरै–धेरै धन्यवाद । मलाई विश्वास गर्दै आफ्नो सुमधुर आवाज भर्ने अवसर प्रदान गर्नुहुने सम्पूर्ण सर्जक, संगीतकार, र सहकर्मीहरू प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु । तपाईंहरूको माया, विश्वास र साथले नै अघि बढ्ने प्रेरणा मिलेको छ । जय सरस्वती माता,जय गीत–संगीत ।’’
प्रतिक्रिया राख्नुहोस्