बेनीको खेलमैदानमा प्यारापिट निर्माण गरिँदै

विकल्प न्यूज\बेनी
असार १४ गते ।


बेनीमा रहेको खुल्लामञ्च स्थित खेलमैदानलाई फराकिलो र व्यवस्थित बनाउन पारापिट निर्माण सुरु गरिएको छ । कालीगण्डकी नदीको किनारबाट पर्खाल उठाएर फराकिलो पारिएको खेलमैदानको सतह भन्दा माथि दर्शक बसेर खेल अवलोकन गर्न मिल्ने गरी प्यारापिट बनाउन लागिएको हो ।


प्यारापिट निर्माण गर्न कस्तरी कन्स्ट्रक्सन सँग १९ लाख ९३ हजार रुपियाँमा ठेक्का सम्झौता गरिएको छ । प्यारापिट चार तहको २० मिटर लामो हुन्छ । बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेश श्रेष्ठले कालीगण्डकी नदीतर्फ खेलमैदान विस्तार गर्न यसअघि उठाइएको पिल्लरमाथि प्यारापिट बनाउन चालु आर्थिक वर्षमा नगरपालिकाले २५ लाख र संघीय सरकारले २० लाख रुपियाँ बजेट विनियोजन भएको जानकारी दिनुभयो ।

संघीय सरकारको योजनामार्फत थप करिब १५ मिटर प्यारापिट बनाउन उपभोक्ता समिति मार्फत काम हुने उहाँले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा दुई वटा शीर्षकका आयोजना मार्फत करिब ३५ मिटर प्यारापिट तयार पार्ने लक्ष्यका साथ काम सुरु गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।


यसअघि ९७ मिटर भएको बेनी खुला मञ्चको खेलमैदानको लम्बाइ विस्तार गरेर एकसय मिटर प्यारापिट निर्माण भइसकेको छ । ३८ मिटर चौडाइ भएको खेलमैदानलाई ४५ मिटर चाक्लो बनाउन म्याग्दी नदीको किनारमा पर्खाल उठाएर प्यारापिट निर्माण गरिएको छ ।


एघार\एघार जना फुटबल खेलाउन मिल्ने बनाउन गत वर्ष बेनी भगवती मन्दिरको पर्खाललाई तीन मिटर पछि सारेर खैलमैदानको लम्बाइ १०० मिटर बनाइएको थियो । खेलमैदान विस्तारका लागि बेनी नगरपालिकाले गत आर्थिक वर्षमा ५० लाख रुपियाँ विनियोजन गरेर काम गरेको नगरप्रमुख सुरत केसीले बताउनुभयो ।


कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको मैदानलाई विस्तार गर्न र प्यारापिट बनाउन विसं २०७४ मा नौ करोड रुपियाँ लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको थियो । तर खेलमैदान निर्माणका लागि बजेटको अभाव हुँदा उद्देश्य अनुसार खेलमैदान निर्माणको काम भने अघि बढेको छैन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *