ठाकुरप्रसाद आचार्य
म्याग्दी,असार १२ गते ।

म्याग्दीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गरेर अब्बल बनाउने नीति लिएको छ । शैक्षिक गुणस्तर वृद्धि,आधुनिक प्रविधिको उपयोग गरेर सिकाई अभिवृद्धि,अभिभावक शिक्षा कार्यक्रम र भौतिक पूर्वाधार निर्माणलाई जोड दिँदै सामुदायिक विद्यालयप्रति आशा जगाउने नीति पालिकाले अघि सारेको हो ।
मंलबार सम्पन्न भएको १९ औं गाउँसभामा आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुँदै गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले सामुदायिक विद्यालयप्रति अभिभावकहरुको आशा,भरोसा र विश्वास जगाउँदै शैक्षिक गुणस्तर वृद्धि गरेर विद्यालयलाई अब्बल बनाउने नीति लिएको बताउनुभयो ।
#ADD

उहाँले भन्नुभयो,‘‘सामुदायिक विद्यालयप्रति अभिभावको विश्वास घट्दो छ । विद्यालय खाली हुनथालेका छन् । राज्यको लगानी बालुवामा पानी हालेजस्तै भएको छ । शैक्षिक गुणस्तर खस्किँदो छ । त्यसैले अब पालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै अभिभावको विश्वास आर्जन गर्ने गरी वृहत शैक्षिक सुधारको कार्यक्रम लैजान आवश्यक ठानेर नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकता दिएका छौं ।’’

गाउँपालिकाले अभिभावक शिक्षा कार्यक्रमको माध्यमबाट सामुदायिक विद्यालय शिक्षाप्रति अभिभावकको चासो जगाई ‘हाम्रा विद्यालय राम्रा विद्यालय’ बनाउने कार्यक्रम संचालन गर्ने नीतिमा उल्लेख गरिएको छ ।
बृहत शैक्षिक सुधार कार्यक्रम मार्फत हरेक विद्यालयमा डिजिटल सिकाई सामाग्री तथा जनशक्तिको व्यवस्थापन गरी प्रविधिमैत्री शिक्षाको माध्यमबाट दक्ष जनशक्ति विकासमा जोड दिने नीति लिएको पालिका अध्यक्ष आचार्यले बताउनुभयो । उहाँका अनुसार,पालिका भित्रका हरेक माध्यमिक विद्यालयलाई डिजिटल एजुकेशन जोनमा रुपान्तरण गरिने छ ।

विद्यालय शिक्षालाई सूचना प्रविधि मैत्री बनाउनको लागि सबै विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना तथा आवश्यक पूर्वाधार निर्माणमा पालिकाले जोड दिएको छ । विद्यालयको आवश्यकता पहिचान गरी भौतिक पूर्वाधार,पुस्तकालय तथा विज्ञान प्रयोगशाला निर्माणमा पालिकाले पहिलो प्राथमिकतामा राखेको अध्यक्ष आचार्यले बताउनुभयो ।
अध्यक्ष आचार्यका अनुसार स्वस्थ,सक्षम तथा हराभरा विद्यालयका लागि विद्यालयमा फूलबारी कार्यक्रम संचालन गरिने छ । गाउँपालिका भित्रका शिक्षक तथा विद्यार्थीको विशिष्ठ क्षमता प्रस्तुति तथा प्रवर्धनका लागि शिक्षक तथा विद्यार्थी प्रतिभा महोत्सव संचालन गर्ने पालिकाले नीति लिएको छ । गाउँपालिकाले विद्यालय क्षेत्रभन्दा बाहिर रहेका उमेर पुगेका बालबालिकाहरुलाई विद्यालयको पहुँचसम्म पु¥याउनका लागि सामुदायिक सिकाई केन्द्रको माध्यमबाट विद्यालय भर्ना अभियानलाई प्रभावकारी बनाउने बनाउने भएको छ ।

विषयगत शिक्षक समितिहरुलाई सक्रिय बनाई दक्ष प्रशिक्षकको माध्यमबाट गुणस्तरीय विद्यालय शिक्षाका लागि विद्यार्थीमैत्री तालिमको व्यवस्थापन गरी शिक्षालाई संस्कारयुक्त,सीप र प्रविधिमैत्री बनाइने पालिकाले नीति लिएको छ । साथै शिक्षामा जलजला मोडेलको विकास गर्ने नीति पालिकाले अघि सारेको छ ।
परिक्षा प्रणालीमा सुधार गरी शैक्षिक गुणस्तर वृद्धि गर्न एकिकृत परीक्षा प्रणाली लागू गर्ने,विद्यार्थी सँग अध्यक्ष कार्यक्रम संचालन गर्ने नीति लिएको छ । यसैगरी पठनपाठनलाई प्रविधिमैत्री बनाउन कक्षा कोठामा स्मार्ट बोर्ड र शिक्षकका हातमा ल्यापटप उपलब्ध गराउने पालिका अध्यक्ष आचार्यले बताउनुभयो ।

सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारका लागि आगामी आर्थिक वर्षमा करिब दुई करोड ७० लाख रुपियाँ बजेट बिनियोजन गरेको पालिका उपाध्यक्ष दिपक आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘पालिका भित्रको शैक्षिक अवस्थालाई सुधार गरी सामुदायिक विद्यालयप्रति अभिभावको विश्वास जागृत गराउन आगामी आर्थिक वर्षमा गरिने शैक्षिक कार्यक्रमहरु संचालनका लागि प्राथमिकताका साथ बजेट बिनियोजन गरेका छौं ।’’
#ADD

गाउँसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रम र बजेट गाउँसभाबाट सर्वसम्मत रुपमा पारित भएकाले आगामी आर्थिक वर्षको सुरुवात देखि नै कार्यान्वयनमा लैजाने पालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्यले बताउनुभयो ।
जलजलाले विगत दुई वर्ष देखि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि शैक्षिक कार्ययोजना निर्माण गरेर लागू गरेको छ । जनप्रतिनिधि, शिक्षक,विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा सरोकारवालाहरुलाई सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि जिम्मेवार बनाउँदै शैक्षिक जागरण र चेतनाको अभिवृद्धिमा पालिका जुटेको छ ।