गण्डकी प्रदेशका उत्कृष्ट भलिबल टिम म्याग्दीमा भिड्दै
म्याग्दी, असार ६ गते ।

म्याग्दीको बेनीमा हुने गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । यही असार ७ गतेदेखि ११ गतेसम्म हुने प्रतियोगिताका बारेमा जिल्ला खेलकुद विकास समितिमा आयोजित कार्यक्रममा ट्रफी सार्वजनिक गरिएको छ ।
#समाचार सारसंक्षेपमा
🔹 प्रतियोगिताको तयारी अन्तिम चरणमा, ट्रफी सार्वजनिक
🔹 ट्रफी जिल्ला समन्वय समितिकी उपप्रमुख डिलकुमारी खत्रीले सार्वजनिक
🔹 आयोजक म्याग्दी सहित आठ जिल्लाको सहभागिता: मुस्ताङ, बागलुङ, पर्वत, कास्की, तनहुँ, स्याङ्जा, नवलपुर
🔹 विजेतालाई नगद २ लाख, उपविजेतालाई १ लाख, तेस्रो र चौथोलाई क्रमशः ५० हजार र २५ हजार
🔹 उत्कृष्ट प्रशिक्षक, खेलाडी, तथा विधागत खेलाडीलाई नगदसहित ट्रफी र प्रमाणपत्र
🔹 प्रत्येक टिममा १४ सदस्य, १ प्रशिक्षक र १ व्यवस्थापक रहने
🔹 खेल पर्यटन प्रवर्द्धन र स्थानीय प्रतिभा विकासमा योगदान पुग्ने अपेक्षा
जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख(उपप्रमुख) डिलकुमारी खत्रीले ट्रफी सार्वजनिक गर्नुभएको थियो । भलिबल प्रतिभाको पहिचान तथा खेल पर्यटनमार्फत प्रचारप्रसारमा प्रतियोगिताले टेवा पुग्ने बताइएको थियो ।
जिल्ला खेलकुद विकास समिति, जिल्ला भलिबल संघका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा जिल्ला भलिबल संघका अध्यक्ष एवम् प्रतियोगिता संयोजक तेजेन्द्र बानियाँले जिल्लामा हुने प्रदेशस्तरीय प्रतियोगिताले खेल पर्यटनमा योगदान दिने बताउनुभयो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले जिल्लामा खेलकुदका प्रतिभालाई आवश्यक सुविधासहित तालिम तथा प्रतियोगितामा सहभागिता गराउने गरी अगाडि बढेको बताउनुभयो । हरेक विधाका खेलमा म्याग्दीलाई सर्वोत्कृष्ट बनाउने र खेलाडीलाई लक्षित गरी बजेट व्यवस्थापन गर्ने बताउनुभयो । प्रतियोगितामा आयोजक म्याग्दीसहित मुस्ताङ, बागलुङ, पर्वत, कास्की, तनहुँ, स्याङ्जा, नवलपुर गरी आठ जिल्लाको सहभागिता हुने छ ।
#ADD

प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्धन तथा जिल्ला खेलकुद विकास समिति म्याग्दीको सहकार्यमा हुने प्रतियोगितामा बिजेता टिमले नगद दुई लाख, उपविजेताले नगद एक लाख तथा तेस्रो हुने टिमले नगद ५० हजार तथा चौथो हुने टिमले नगद २५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगितामा उत्कृष्ट प्रशिक्षक र सर्वोत्कृष्ट खेलाडीलाई जनही पाँच–पाँच हजार तथा अन्य विधागत उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिबेरो, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट सेटरले जनही तीन–तीन हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । हरेक टिममा एक प्रशिक्षक र एक व्यवस्थापकसहित १४ जनाको सहभागिता रहने छ ।
प्रतिक्रिया राख्नुहोस्