ताजा समाचार:
Search

राहुघाट जलविद्युत आयोजनामा मजदुर असुरक्षित


विकल्प न्यूज/बेनी
चैत ५ गते ।

म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनामा काम गर्ने मजदुर असुरक्षित हुनथालेका छन् । गत पुस महिना यता विभिन्न दुर्घटनामा ४ जना मजदुरले ज्यान गुमाए । दुर्घटनामा ज्यान गुमाउनेका मजदुरहरुले उचित क्षतिपुर्ति पाउन कठिन समेत छ । गत फागुन महिनाको २९ गते आयोजनाको मिस्कर दुर्घटना हुँदा बेनी नगरपालिका २ खबराका ४२ वर्षीय हेमबहादुर घिमिरेको घटनास्थलमै ज्यान गयो । क्षतिपुर्ति नपाएको भन्दै घिमिरेका आफन्त र स्थानीयवासीहरुले आयोजनामा सोमबार ताबन्दी गरेका छन् ।


रघुगङ्गा–४ बुक्लस्थित राहुघाट जलविद्युत् आयोजनाको अडिट नं २ मा ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्सको डिपी टुए ७०८३ नम्बरको मिस्कर सडकबाट ८० मिटर तल खसेर दुर्घटना हुँदा चालक घिमिरेको घटनास्थलमा मृत्यु भएको थियो । साघुरो सडकका कारण दुर्घटना भएको थियो ।


दुर्घटनामा परी ज्यान गुमाएका मजदुरका आफन्त र गाउँलेले नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा निर्माण भइरहेको राहुघाट जलविद्युत् आयोजनाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।


निर्माण कम्पनी र आयोजनाले मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध नगराएपछि पिप्लेस्थित रघुगङ्गा हाइड्रोपावरको कार्यालयमा ताला लगाइएको बेनी–२ का पूर्ववडाध्यक्ष हिराबहादुर थापाले बताउनुभयो ।


‘तिल्केनीचौरस्थित ठेकेदारको कार्यालयमा ताला लगाउन पुगेका बेनी–२ ज्यामरुककोटका बासिन्दालाई प्रहरीले रोकेको थियो । ताला लगाएपछि सरोकार भएका पक्षले मङ्गलबार बिहान छलफलका लागि आह्वान गरेका छन्’ उहाँले भन्नुभयो ।


बेनी अस्पतालमा राखिएको मृतकको शव आफन्तले अझै बुझ्न मानेका छैनन् । ठेकेदार कम्पनीले बिमा र कम्पनीको नियमानुसार पाउने राहत उपलब्ध गराउन तयार भए पनि मृतकका आफन्तले ५० लाख रुपियाँ माग गरेकाले समस्या भएको ठेकेदार कम्पनीको भनाइ छ ।


निर्माणको अन्तिम चरणमा रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनामा गत पुसयता भएका दुर्घटनामा घिमिरेसहित चार जनाको मृत्यु भएको छ । रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले ठेकेदार र मजदुरका आफन्तसँग समन्वय र सहजीकरण भइरहेकाले यथाशीघ्र समस्या समाधान हुने विश्वास व्यक्त गरे ।