ताजा समाचार:
Search

कुमारी सहकारी हिनामिना प्रकरण ः पाँचजनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश


विकल्प न्यूज\बेनी
म्याग्दी, फागुन २१ गते ।

म्याग्दीको बेनीमा रहेको कुमारी बहुउद्देश्यीय सहकारीको रकम हिनामिना र अपचलन सम्बन्धी मुद्दाका आरोपीहरुलाई थुनामा पठाउन जिल्ला अदालत म्याग्दीले आदेश दिएको छ । अदालतको आदेश सँगै रकम हिनामिनाको अभियोग लागेका जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा सहित पाँचजना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा बुधबार भएको थुनछेक बहसपछि जिसस समेत रहनुभएका सहकारीका पूर्व सञ्चालक थापा,पुर्व अध्यक्ष मनप्रसाद थजाली,पुर्व प्रबन्धक रुद्र गुरुङ,संचालक समितिका सचिव देवी थापा र लेखा समितिका पुर्व सदस्य लोकबहादुर पुन लाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

#ADD


प्रहरी हिरासतमा रहेर बिरामी भइ अस्पतालमा उपचाररत उक्त सहकारीका पुर्व अध्यक्ष थमबहादुर गर्बुजालाई निको भएपछि अदालतमा हाजिर गराउन आदेश भएको जिल्ला अदालत म्याग्दीका श्रेष्तेदार भोलाराज रेग्मीले जानकारी दिनुभयो ।


उक्त सहकारी हिनामिनाको आरोप लागेका १९ जनालाई पक्राउ पुर्जी गर्ने आदेश भएको छ । मुद्दाको वादी जिल्ला सरकारी वकिल कार्यालयको मागदावी बमोजिम सहकारी रजिष्ट्रारको कार्यालय सँग समन्वय गरी सहकारीलाई १५ दिन भित्र सुचारु गरी अदालतमा जानकारी गराउन पनि आदेश भएको अदालतका सूचना अधिकारी डिल्लीराज पौडेलले जानकारी दिनुभयो ।

सरकारी वकिल कार्यालय म्याग्दीले यही फागुन १५ गते एक अर्ब १३ करोड बिगो दावी गर्दै २५ जनालाई विपक्षी बनाएर मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ को दफा ३२ बमोजिम अभियोगपत्र दर्ता गराएको थियो ।

#ADD


सहकारी रजिष्ट्रारको कार्यालय पोखराको सिफारिसमा जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा उनीहरु विरुद्ध संगठीत रुपमा सहकारीको निक्षेप रहेको शेयर तथा बचत,संस्थाको सम्पत्ति र बाह ऋण वापतको रकम, नेपाल सरकारको राजस्व समेत हानी नोक्सानी पु¥याई सहकारी ऐन,२०७४ को नियमावली २०७५ र संस्थाको विनियम विपरित कार्य गरेको अभियोगमा मुद्दा चलाइएको हो ।


सहकारीका वर्तमान र पुर्व सञ्चालक समितिका पदाधिकारी,सदस्य,लेखा समिति र ऋण समितिका संयोजक तथा सदस्यहरुलाई विपक्षी बनाइएको छ । २०८१ माघ २० गते पक्राउ परेका पाँच र फागुन ७ गते पक्राउ परेका एकजना प्रहरी हिरासतमा थिए भने १९ जना फरार छन् । फरार भएका मध्य हाल सहकारीको संचालक समितिका अध्यक्ष याम रोका पनि छन् ।


छ हजार बचतकर्ता रहेको उक्त सहकारी २०६५ मा खुलेको थियो । सहकारीमा जम्मा भएको निक्षेप सञ्चालकहरुले विनाधितो अन्य क्षेत्रमा लगानी गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *