विकल्प न्यूज\बेनी
फागुन १६ गते ।

पर्वतको जलजला गाउँपालिकामा नेकपा एमालेले वडाकेन्द्रीत अभियानलाई तिव्रता दिएको छ । पार्टीले संचालन गरेको तीन महिने वडा केन्द्रीत अभियानलाई प्रभावकारी बनाउन नेता तथा कार्यक्रताहरु परिचालन गरेर अभियानलाई तिव्रता दिएको हो ।
हालै बसेको जिल्ला र पालिका कमिटीको निर्णय अनुसार नेकपा एमालेले जलजला कमिटी ९ वटै वडा तहमा प्रशिक्षण,घर दैलो,सदस्यता नवीकरण,विस्तार,टोल कमिटी गठन,जनप्रतिनिधि र पार्टी कमिटी बिच अन्तरक्रिया लगायत विभिन्न रचनात्मक क्रियाकलाप संचालन गर्न कार्ययोजना बनाउन केन्द्रीत रहेको नेकपा एमाले जलजलाका सचिव निलकष्ठ सुवेदीले बतानुभयो ।उहाँका अनुसार फागुन २० सम्म पालिकाका सबै वडाकमिटीहरुले अभियानका बारेमा कार्ययोजना बनाउने छन् ।

अभियान अन्तर्गत शनिबार सम्म वडा नम्बर १ बाँसखर्क,बडा नम्बर २,३ र ४ नम्बर वडामा बैठक सम्पन्न भएको उहाँले बताउनुभयो ।
यसैगरी फागुन १८ गते आइतबार वडा नम्बर ५ लेखफाँट,८ नाग्लीबाङ र ९ नम्बर वडा बनौंमा वडा कमिटीको वैठक राखिएको छ । यसैगरी फागुन १९ गते वडा नम्बर ७ धाइरिङ र वडा नम्बर ६ सालिजमा वडा कमिटीको वैठक राख्ने कार्यतालिका बनाइएको पालिका कमिटीका उपाध्यक्ष महेन्द्र रेग्मीले जानकारी दिनुभयो ।
वडाकमिटीका बैठकहरुमा पार्टीका प्रदेश कमिटीका सदस्य तथा पालिका कमिटीका इन्चार्ज लालबहादुर अधिकारी,पालिका कमिटीका सचिव नरबहादुर कार्की,जिल्ला कमिटी सदस्हरु लगायत पालिका कमिटीका पदाधिकारीहरु परिचालन गरिएको छ ।
वडा कमिटीको बैठकले पार्टीको अभियानलाई प्रभावकारी रुपमा संचालन गरी जनताको घरघर सम्म पुग्ने गरी कार्ययोजना निर्माण गरिएको गण्डकी प्रदेश कमिटीका सदस्य एवम् पालिका इन्चार्ज अधिकारीले बताउनुभयो ।

आगामी निर्वाचनमा जलजलामा नेकपा एमालेलाई निर्णयाक शक्तिका रुपमा स्थापित गर्न,जनताका गुनासाहरु सुन्न,संगठन विस्तार,सुदृढीकरण तथा जनताका आवश्यकता र विकास योजनाका बारेमा समेत जनतासँग अन्तरकिया गर्ने गरी अभियानमा नेता तथा कार्यकर्ताहरु परिचालन हुने उहाँले बताउनुभयो ।
पार्टीले संचालन गरेको तीनमहिने अभियानका क्रममा वडा कमिटी र अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षणको कार्यक्रम समेत आयोजना गरिने पार्टीले जनाएको छ ।
अभियानमा वडा कमिटीलाई सशक्त बनाउने, नियमित बैठक बस्ने, सदस्यता नवीकरण गर्ने,स्थानीय तहहरूले गर्ने कामको लेखाजोखा गर्ने,पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई जनताको कामलाई अझ प्रभावकारी र जनपक्षीय बनाउने गरी प्रशिक्षण लगायतका विषयमा वडा तहमा पुगेर छलफल समेत गरिने पालिका कमिटीका अध्यक्ष कार्कीले बताउनुभयो ।
अभियानअन्तर्गत जनताको घरमा गएर उनीहरूसँग भेट गरेर समस्या बुझ्ने र समाधानको पहल गर्ने नीति लिइएको उहाँले जानकारी दिनुभयो ।