विकल्प न्यूज\बेनी
फागुन १३ गते ।
म्याग्दीको सदरमुकाम बेनी देखि नजिक रहेको पर्वतको जलजला गाउँपालिका ३ माझफाँटमा १० बेड क्षमताको पालिका स्तरीय अस्पताल भवन निर्माण भएको छ । संघीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने उद्देश्य अनुसार सुविधासम्पन्न अस्पताल भवन निर्माण गरिएको हो ।

अस्पताल भवन निर्माणका लागि गाउँपालिकाले २०७८ असार २३ गते दुईवर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरी जिडब्लु सी–बिएम–आइएस जेभी काठमाण्डौं सँग ९ करोड ७३ लाख ६४ हजार आठसय १३ रुपियाँ ठेक्का सम्झौता गरेको थियो । जग्गा प्राप्तीमा ढिलाई र समयमा बजेट प्राप्त नभएपछि २०८२ को चैत मसान्त सम्म दोस्रो पटक म्याद थप गरिएको थियो ।
अपाङ्गमैत्री दश शैया क्षमताको भूकम्प प्रतिरोधी तीन तला भएको भवन निर्माण भएको पालिकाका इन्जिनियर सुनिल बानियाँले बताउनुभयो । उहाँका अनुसार अहिले सम्म ९५ प्रतिशत भौतिक प्रगति भएको छ । आगामी चैत मसान्त सम्म ठेक्काको म्याद भएपनि यही फागुन मसान्त सम्म सम्पूर्ण काम सकिने पालिकाका इन्जिनियर बानियाँले बताउनुभयो ।
तीनवटा ब्लक रहेको भवनमा आकस्मिक कक्ष, अन्तरङ्ग,प्रशुति कक्ष, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डार कोठा, उपचारका लागि छुट्टाछुट्टै कक्ष गरेर ३० वटा कोठा रहेको उहाँले जानकारी दिनुभयो ।
भवन निर्मााण सकेर भवन भित्र पानी,विद्युत जडान, पर्खाल,पार्किङ र प्रवेशद्धार निर्माणको काम सुरु भएको र फागुन महिना भित्रमा सम्पूर्ण काम सकेर भवन हस्तान्तरण गर्ने निर्माण व्यवसायीका प्रतिनिधि रामेश्वर ढकालले बताउनुभयो ।
जनशक्ति,मेडिकल उपकरण लगायत अन्य स्वास्थ्य उपकरणको व्यवस्थापन गरेर गाउँपालिकाले चाँढै नै अस्पताल संचालनमा ल्याउने जलजला गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष एकिन्द्र खत्रीले बताउनुभयो ।

अस्पताल संचालनमा आएपछि वडा नम्बर १ बाँसखर्क,माँझफाँटका २,३ र ४ नम्बर वडा,५ नम्बर लेखफाँट,६ सालिजा र म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चेका स्थानीयवासीहरुले समेत स्वास्थ्य सेवा लिन सहज हुने वडाध्यक्ष खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘अस्पताल सञ्चालनमा आएपछि सामान्य उपचारका लागि पनि म्याग्दीको सदरमुकाम बेनी स्थित प्रदेश अस्पतालमा पुग्नुपर्ने बाध्यता हट्ने छ ।’’