विकल्प न्यूज/बेनी
माघ ३० गते ।
बेनीमा सम्पन्न दशौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा रघुगंगा गाउँपालिका विजयी भएको छ ।
जिल्ला खेलकुद विकास समिति, म्याग्दीको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा ११ स्वर्ण, पाँच रजत र चार कास्य पदक सहित रघुगंगा गाउँपालिकाले उपाधि हासिल गरेको हो ।

प्रतियोगितामा सात स्वर्ण, १० रजत र सात कास्य पदक जितेको बेनी नगरपालिका द्धितीय र पाँच स्वर्ण, सात रजत र आठ कास्य पदक जितेको मालिका गाउँपालिका तेस्रो भएका छन् ।
छ वटा स्थानीय तह स्तरमा यसअघि भएको विद्यालय स्तरीय प्रतियोगिताबाट छनौट भएर आएका विद्यार्थी खेलाडीहरुले अन्तर पालिकाबिचमा प्रतिस्पर्धा गरेका थिए । आगामी फागुन ५ र ६ गते गोरखामा हुन लागेको प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने खेलाडी छनौटका लागि जिल्ला स्तरमा प्रतियोगिता गरिएको हो ।

प्रथम,द्धितीय र तृतीय हुने स्थानीय तहले रु. २५ हजार, १५ हजार र १० हजार नगद सहित राष्ट्रपति रनिङ्ग शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । भलिबल, कबड्डी, एथलेटिक्स र मार्सल आट्र्स बिधाका ३० वटा बिधामा ९० वटा पदकका लागि तीन सय जना भन्दा बढी विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए ।
बिजयी खेलाडीहरुलाई बेनी नगरपालिकाका प्रमुख सुरत केसी, रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले पुरस्कार वितरण गर्नुभएको थियो ।
प्रतियोगितामा धवलागिरी गाउँपालिकाले तीन स्वर्ण, चार रजत र पाँच कास्य, अन्नपूर्ण गाउँपालिकाले तीन स्वर्ण, एक रजत र चार कास्य र मङ्गला गाउँपालिकाले एक स्वर्ण, तीन रजत र दुई कास्य पदक जितेका छन् । प्रदेश स्तरीय प्रतियोगितामा जिल्लाबाट भलिवलमा २०, कबड्डीमा २०, मार्शल आर्टका ३६ र एथलेटिक्सका २४ जना खेलाडी छनौट भएर सहभागीता जनाउने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केसीले जानकारी दिनुभयो ।
