मिलनचोक–लेखफाँट–सालिजा सडक स्तरोन्नति योजनामा थप ३ करोड विनियोजन


विकल्प न्यूज/जलजला
माघ २४ गते ।

पर्वतको जलजला गाउँपालिकाको मिलनचोक–लेखफाँट–सालिजा सडक स्तरोन्नतिका लागि चालु अािर्थक वर्षमा संघीय सरकारबाट थप तीन करोड रुपियाँ बजेट विनियोजन भएको छ । यस अघि विनियोजन भएको दुई करोड १५ लाख गरी पाँचकरोड १५ लाख रुपियाँमा सडक स्तरोन्नति योजना सुरु हुने भएको हो ।


पूर्व मन्त्री तथा पर्वतबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पदम गिरीको पहलमा उक्त बजेट विनियोजन भएको हो । कृषि पकेट क्षेत्रका रुपमा रहेको जलजला गाउँपालिका ६ सालिजालाई जोड्ने सडक स्तरोन्नतिका लागि आफूले अर्थमन्त्री विष्णु पौडेलसँग अनुरोध गरेपछि उक्त बजेट विनियोजन भएको उहाँले बताउनुभयो ।


उहाँले भन्नुभयो, ‘‘चालु आर्थिक वर्ष भित्रमै योजना सम्पन्न गर्ने गरी बजेट विनियोजन भएको छ । यस अघि विनियोजन भएको दुई करोड १५ लाख र थप तीन करोड गरी कुल पाँच करोड १५ लाख रुपियाँमा सडक स्तरोन्नति योजना सुरु हुन्छ । आगामी आर्थिक वर्षका लागि पनि प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ ।’’ आगामी आर्थिक वर्षमा मिलनचोक देखि सालिजा सम्मको सडक स्तरोन्नति योजना सम्पन्न गर्नका लागि आफूले पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजनमा पहल गर्ने उहाँले बताउनुभयो ।


यो सडकको करिब दुई दशक अघि ट्रयाक खोलिएको थियो । तरकारी पकेट क्षेत्रका रूपमा चिनिएको वडा नम्बर ५ लेखफाँट हुँदै ६ नम्बर वडा सालिजा जोड्ने कृषि सडक जिर्ण हुँदा किसानले उत्पादन गरेको कृषि उपज बजार सम्म लैजान समस्या छ ।
थप बजेट विनियोजन भएपछि सडक डिभिजन कार्यालय पोखरा मार्फत योजना कर्यान्वयन गर्ने तयारी गरिएको छ ।

चालु आर्थिक वर्षमा मिलनचोक देखि लुङ्दी खोलाको मोटरेबल पुल सम्म प्रदेश सरकारको बजेट बाट सडक स्तरोन्नति योजना अघि बढेकाले वडा नम्बर ४ खोलाखेत देखि अगाडी सडक स्तरोन्नतिको काम सुरु गरिने नम्बर ४ का वडाध्यक्ष भरत क्षेत्रीले बताउनुभयो ।
कच्ची, जीर्ण र साँघुरो सडकका कारण कृषि उपजको बजारीकरण र आवतजावतमा सर्वसाधरणहरुले वर्षौँदेखि समस्या भोग्दै आएकाले सडक स्तरोन्नतिका लागि थप बजेट विनियोजन भएपछि स्थानीयहरु उत्साहित भएको नेकपा एमाले जलजला गाउँपालिका कमिटीका सचिव निलकण्ठ सुवेदीले बताउनुभयो ।


गण्डकी प्रदेश सरकारले मिलनचोक बजारदेखि लुङ्गदी खोलाको मोटरेबल पुलसम्म करिब पन्ध्र सय मिटर दूरीको सडक स्तरोन्नति गर्न एक करोड ७९ लाख रुपियाँ बजेटबाट अहिले सडक स्तरोन्नतिको योजना सुरु भएको छ ।


बहुवर्षीय ठेक्का लगाएर योजना कार्यान्वयन गर्न चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ७२ लाख रुपियाँ विनियोजन गरेको छ । योजनामा सडक फराकिलो पार्ने, पक्की नाली निर्माण, सडक ढलान र सोलिङको काम हुँदै छ ।

सडक निर्माणका लागि निर्माण व्यवसायी युग विल्डर्स एण्ड सप्लायर्स प्रा.लि पोखरासँग १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।


संघीय सरकारबाट विनियोजन भएको बजेटबाट खोलाखेत देखि सालिजा सम्मको सडक फराकिलो, नाली निर्माण, ढलान र कालोपत्रे गर्नका लागि करिब ८ करोड रुपियाँ बजेट आवश्यक पर्ने अनुमान गरिएको छ ।


निर्वाचनका बेला सडक स्तरोन्नति गर्ने प्रतिबद्धता जनाए अनुसार आफूले उक्त सडकलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजनका लागि पहल गरेको पूर्व मन्त्री तथा सांसद गिरीले बताउनुभयो । सडक स्तरोन्नति भएपछि जलजलाको वडा नम्बर ४ खोलाखेत,५ को रातामाटा, लेखफाँट, ६ को भोटेडाँडा, सालिजा र ठोटनेरीका स्थानीयहरू लाभान्वित हुनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *