ठाकुरप्रसाद आचार्य
म्याग्दी(बेनी) माघ २३ गते ।
म्याग्दीमा दुईदिनको अवधिमा तीनहजार भन्दा बढी किशोरीहरुले एचपिभी खोप लगाएका छन् । जिल्लाका सबै स्थानीय तहमा मंगलबार देखी सुरु भएको खोप अभियानका क्रममा तीन हजार १० जना किशोरी खोप अभियानमा सहभागी भएको प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।
पहिलो दिन जिल्लाभर १४ सय ३५ जनाले खोप लगाएका थिए भने दोस्रो दिन १५ सय ७५ जनालाई खोप लगाएको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख भुवन ठकुराठीले जानकारी दिनुभयो ।
कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्रा र विद्यालय बाहिर रहेका किशोरीहरु गरेर अन्नपूर्ण गाउँपालिकामा ४०१ जनालाई खोप लगाउनुपर्नेमा एकसय ८९ जनाले खोप लगाइसकेका छन् । रघुगंगामा पाँचसय १ मा चार सय ७३ जनाले खोप लगाएका छन् ।
धवलागिरिमा ६ सय २५ जनामा दुईदिनको अवधिमा पाँचसय ४५ जनामा खोप लगाइसकिएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
यसैगरी मालिका गाउँपालिकामा ८ सय २५ जना छात्रा तथा किशोरी मध्य चारसय ५६ जना, मंगलामा ५ सय ६४ मध्य तीनसय ९ जना र बेनी नगरपालिकामा १८ सय ६८ मध्य एकहजार ३८ जनाले एचपिभी खोप लगाइसकेका छन् ।
महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपिभी खोप म्याग्दीमा माघ २२ गते देखि २८ गते सम्म संचालन हुने छ । जिल्लाभर चारहजार ७ सय ६१ जना छात्रा तथा किशोरी एचपीभी खोप अभियानमा सहभागि हुँदै छन् ।
खोप अभियानलाई प्रभावकारी बनाउन स्थानीय तहका जनप्रतिनिधि,कर्मचारी र स्वास्थ्य स्वयमसेविकाहरु परिचालन भएको प्रदेश जनस्वस्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत राजेन्द्र सापकोटाले जानकारी दिनुभयो ।
खोप लगाउनका लागि विद्यालय र स्वास्थ्य संस्था गरी एकसय ४२ वटा खोप केन्दको व्यवस्था गरिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीले दिएको जानकारी अनुसार ६ स्थानीय तहमा विद्यालयका कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा ४ हजार ६ सय ८८ र विद्यालय बाहिर रहेका ७३ जना किशोरी गरी चारहजार ७ सय ६१ जनालाई एचपीभी खोप लगाउन सुरु छ ।