ठाकुरप्रसाद आचार्य
म्याग्दी(बेनी) माघ २२ गते ।
पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपिभी खोप म्याग्दीमा लगाउन सुरु गरिएको छ । आज देखि जिल्लाका ६ वटै स्थानीय तहहरुमा रहेका विद्यालय र स्वास्थ्य संस्था मार्फत खोप लगाउन सुरु गरिएको हो । जिल्लाभर चारहजार ७ सय ६१ जना छात्रा तथा किशोरी एचपीभी खोप अभियानमा सहभागि हुँदै छन् ।
जिल्लाको ६ वटै स्थानीय तहहरुमा माघ २२ गते २९ गते सम्म छात्रा तथा किशोरीहरुलाई खोप लगाउन स्वास्थ्यकर्मीहरु परिचालन भएको प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले बताउनुभयो । खोप अभियानलाई प्रभावकारी बनाउन स्थानीय तहका जनप्रतिनिधि,कर्मचारी र स्वास्थ्य स्वयमसेविकाहरु परिचालन भएको उहाँले बताउनुभयो ।
सदरमुकाम बेनी स्थित बेनी सामुदायिक माध्यमिक विद्यालयमा बेनी नगरपालिकाका प्रमुख सुरत केसी,प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल र स्वास्थ्य कार्यालयका कर्मचारीको सहभागितामा खोप कार्यक्रमको सुभारम्भ गरिएको थियो ।
खोप लगाउनका लागि विद्यालय र स्वास्थ्य संस्था गरी एकसय ४२ वटा खोप केन्दको व्यवस्था गरिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीले दिएको जानकारी अनुसार ६ स्थानीय तहमा विद्यालयका कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा ४ हजार ६ सय ८८ र विद्यालय बाहिर रहेका ७३ जना किशोरी गरी चारहजार ७ सय ६१ जनालाई एचपीभी खोप लगाउन सुरु गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका जनस्वास्थ्य अधिकृत राजेन्द्र सापकोटाले जानकारी दिनुभयो ।
अन्नपूर्ण गाउँपालिकामा ३ सय ९७ जना,रघुगंगामा ४ सय ९५ जना,बेनी नगरपालिकामा एकहजार ८ सय ६८जना, मंगला गाउँपालिकामा पाँचसय ६४ जना,मालिका गाउँपालिकामा ८ सय २९ जना र धवलागिरि गाउँपालिकामा ६ सय ८ जना किशोरीहरुलाई एचपीभी खोप लगाइने स्वास्थ्य कार्यालयका वरिष्ठ प्रशासन सहायक भावना शर्माले जानकारी दिनुभयो ।