एचपिभी विरुद्धको खोप अभियान सुरु, खोप ढुक्कसँग लगाउन चिकित्सकको सुझाव
काठमाडौं, माघ २२ गते ।

सरकारले आजबाट पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलोमा (एचपिभी) भाइरसविरुद्धको खोप अभियान सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उक्त खोप अभियान माघ २२ देखि फागुन ६ गतेसम्म चल्ने छ ।
परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले अभियान दिन लागेको खोपको प्रभावकारिता शतप्रतिशत रहेको विभिन्न अध्ययनले देखाएको हुँदा ढुक्कसँग खोप लगाउन आग्रह गर्नुभयो ।
उक्त खोप विश्व स्वास्थ्य सङ्गठनबाट मान्यताप्राप्त हुनुका साथै औषधी व्यवस्था विभागले समेत स्वीकृत गरेको हुँदा यो खोप सुरक्षित र प्रभावकारी भएको डा.गौतमको भनाइ छ ।
वरिष्ठ प्रसूती तथा स्त्रीरोग विशेषज्ञ डा.भोला रिजालले एचपिभी भाइरसविरुद्धको खोप प्रारम्भिक किशोरावस्थामा लगाएमा प्रभावकारी हुने बताउनुहुन्छ ।
डा.रिजालका अनुसार यो खोपले महिनावारीमा कुनै असर गर्दैन । उहाँ भन्नुहुन्छ, “किशोरीको महिनावारी नियमित प्राकृतिक प्रक्रिया हो । यसले एचपिभी खोप लगाउँदैमा महिनावारी छिटो वा ढिलो हुने हुँदैन ।” साथै एचपिभी खोप र बाँझोपनबिच कुनै सम्बन्ध नरहेको ढुक्क भएर खोप लगाउन डा.रिजालको सुझाव छ । यो खोप महिनावारी भएको समयमा पनि लगाउन मिल्ने डा.रिजाल बताउनहुन्छ ।
यो खोप ९८ देखि १०० प्रतिशतसम्म प्रभावकारी हुने अध्ययनले देखाएको छ । यो खोप लक्षित किशोरीलाई एक मात्रा डोज दिए पुग्छ । यो खोप ०.५ एमएलले पुग्ने डा.गौतम बताउनुहुन्छ । खोप सुइको माध्यमबाट बायाँ पाखुराको माथिल्लो भागमा मासुभित्र दिनुपर्दछ । यो खोप लक्षित समूह बाहेक अन्य व्यक्ति, गर्भवती, पहिला कुनै खोप लगाउँदा विगतमा गम्भीर एलर्जी भएको व्यक्तिले लगाउनु हुँदैन।
सरकारले उक्त अभियानमा विद्यालय जाने ६ देखि १० कक्षामा अध्ययन गर्ने छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका देशभरका १६ लाख ८८ हजार ७६८ किशोरीलाई खोप लगाउने लक्ष्य लिएको छ । उक्त खोप अभियानका लागि सरकारले विद्यालयमा खोप केन्द्र तोकेको छ ।
एचपिभी भाइरस बस्तो भाइरस हो ?
पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक एचपिभी भाइरस हो । यो भाइरसको दुई सयभन्दा बढी किसिमका प्रजाति हुन्छन् र तीमध्ये कम्तीमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक मानिन्छ । नेपालमा १६ र १८ प्रजाति ८० प्रतिशतले पाठेघरको मुखको क्यान्सर बनाउने अध्ययनले देखाएको छ ।
सरकारले अभियानमा लगाउन लागेको एचपिभीविरुद्धको खोपले १६ र १८ प्रजातिबाट सङ्क्रमण हुने पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउने डा.गौतमको दाबी छ ।
पाँच लाख पाठेघरको मुखको क्यान्सर
पाठेघरको मुखको क्यान्सर चौथौ मुख्य क्यान्सर रहेको छ । ८८ प्रतिशत पाठेघरको मुखको क्यान्सरका बिरामी र मृत्यु हुने सङ्ख्या न्यून आय भएका र मध्यम आय भएका देशमा देखिएको छ ।
नेपालमा महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण हो । मृत्युको भने पहिलो कारण हो ।
पाठेघरको मुखको क्यान्सर हरेक वर्ष पाँच लाख ७० हजार महिलामा हुने गर्छ । यो सङ्ख्या सन् २०३० सम्ममा सात लाखसम्म पुग्ने अनुमान गरिएको छ । विश्वमा हरेक वर्ष तीन लाख ११ हजारको मृत्यु पाठेघरको मुखको क्यान्सरबाट हुने गर्छ । यो सङ्ख्या सन् २०३० सम्ममा चार लाख पुग्ने अनुमान गरिएको छ ।
नेपालमा हरेक वर्ष दुई हजार १६ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने अनुमान गरिएको छ । हरेक वर्ष एक हजार एक हजार ३१३ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुन्छ। जसअनुसार औसतमा प्रत्येक दिन चार जनामा पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुन्छ भन्ने अनुमान गरिएको छ ।
क्यान्सर रोग विशेष डा.सरिता घिमिरेका अनुसार पाठेघरमा भएका कोशिकाको अनियन्त्रित विकासले गर्दा क्यान्सर हुने गर्छ । यो एक ठाउँबाट अर्को ठाउँमा सर्न सक्छ । सूर्तीजन्य वस्तु, खानपान, अत्याधिक चिल्लो खाना, नुन बढी भएको खाना, धुवाँमा सेकाएको मासु ढुसी परेको खानेकुरा ,बासी खानेकुरा, वंशाणुगत कारण विकीरण जीवाणुका कारणले गर्दा क्यान्सर हुने डा. घिमिरे बताउनुहुन्छ।
प्रतिक्रिया राख्नुहोस्