पूर्व प्रधानमन्त्री प्रचण्ड पर्वत बेनीमा

ठाकुरप्रसाद आचार्य
म्याग्दी,माघ २१ गते ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) पर्वत बेनीमा आउनुभएको छ । सोमबार साँझ आउनुभएका अध्यक्ष प्रचण्डलाई पर्वतको जलजला गाउँपालिका ३,पर्वत बेनी स्थित ज्ञान गौरी होटलमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य गोविन्द पौडेल लगायत पार्टीका नेता तथा कार्यकर्ताहरुले स्वागत गर्नुभएको छ ।

भोली माघ २२ गते म्याग्दीको बेनीमा हुने खवरदारी सभालाई सम्बोधन गर्न प्रचण्ड बेनी आउनुभएको पार्टीका जिल्ला संयोजक सेरबहादुर केसीले बताउनुभयो । होटल ज्ञानगौरीमा म्याग्दीका नेता तथा कार्यकर्ताहरु अध्यक्ष प्रचण्डलाई स्वागत गर्न पुगेका थिए । बेथिति, भ्रष्ट्राचार, महंगी र सरकारको जनविरोधी कदमका विरुद्ध खबरदारी सभा आयोजना गरिएको जिल्ला संयोजक केसीले बताउनुभयो ।

बेनीको जिल्ला प्रशासन कार्यालय अगाडीको चोकमा खुल्ला सभाको तयारी गरिएको छ । प्रचण्ड शान्ति प्रक्रियामा आएपछि चौथो पटक बेनीमा आउनु भएको हो । वि.स. २०७० को संविधानसभाको दोस्रो निर्वाचनको सभालाई सम्बोधन गर्न बेनी आएका प्रचण्ड वि.स. २०७५ कात्तिकमा स्वर्गीय पत्नि सिता दाहाललाई तातोपानी कुण्डमा स्नान गराएर उपचारका लागि आउनुभएको थियो । त्यसबेला चार दिन बेनीमा बस्नुभएको थियो ।

वि.स. २०७६ मा म्याग्दी महोत्सवको उद्घाटनका लागि प्रचण्ड बेनी आउनुभएको थियो । खबरदारी सभालाई कार्यकर्ताहरुलाई प्रशिक्षित, समसामयिक राजनीतिक विषयमा पार्टीको धारणा, सरकारको नेतृत्व गर्दा माओवादीले गरेका कामको प्रचारप्रसारका साथै जिल्लाको विकास निर्माणको विषयमा केन्द्रिय स्तरका नेताहरु मार्फत सरकारको ध्यानाकर्षण गराउने पनि उद्देश्य रहेको माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला ईञ्चार्ज पौडेलले बताउनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *