विकल्प न्यूज/बेनी
माघ २० गते ।
सहकारी रकम अनियमितता गरेको आरोपमा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा पक्राउ पर्नुभएको छ । उहाँले आइतबार विहान बेनी स्थित आफ्नै निवासबाट अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सागर पौडेलले जानकारी दिनुभयो ।
थापालाई बेनी स्थित कुमारी बहउद्देश्यीय सहकारीको रकम अनियमतिता गरेको आरोप लागेको छ । प्रहरीले अन्य कुराहरु खुलाएको छैन । प्रमुख थापा सहित तत्कालिन सहकारीको व्यवस्थापक र संचालक समितिमा रहेका रघुगंगा गाउँपालिका वडा नम्बर ४ झिँ का मनप्रसाद थजाली,अन्नपूर्ण गाउँपालिका ७ हिस्तानका थमबहादुर गर्बुजा, पर्वतको जलजला गवाउँपालिका ५ लेखफाँटका रुद्रबहादुर गुरुङ र बेनी नगरपालिका १ रत्नेचौरकी देवी कुमारी थापालाई पक्राउ गरि थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
यता आरोपी थापाले सहकारीको रकमले सामुहिक रुपमा गरिएको लगानीको पचास प्रतिशत रकम मिलान भइसेकेको र बाँकी रकम पनि मिलान गर्ने प्रक्रियामा रहेको प्रतिक्रिया दिनुभएको छ । बेनी पक्राउ पछि बेनी अस्पतालमा स्वास्थ्य परिक्षणका क्रममा उहाँले भन्नुभयो, ‘‘व्यक्तिगत रुपमा सहकारीको रकम झिकेर अपचलन गरेको होइन,सहकारीको रकम सामुहिक रुपमा ऋण लिएर लगानी गरेका हौं । सामुहिक रुपमा लिएको ऋणको पचास प्रतिशत रकम मिलान गरिसकेका छौं । अन्य रकम पनि मिलाउने प्रक्रियामा छौं । अनुसन्धान प्रक्रिया अघि बढेकाले हामीहरु सबैले स्वत स्फूर्त रुपमा कानूनी प्रक्रियालाई सहयोग गर्न प्रहरीको सम्पर्कमा पुगेका हौं । प्रहरीले पक्राउ गरेको होइन ।’’