विकल्प न्यूज/बेनी
म्याग्दी,पुस १६ गते ।
म्याग्दीको बेनी नगरपालिका ९,घतानमा गरिएको नसर्ने रोगको स्क्रिनिङ शिविरमा ३ सय ४५ जना लाभान्वित भएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराको आयोजना, बेनी नगरपालिका र बेनी अस्पताल म्याग्दीको समन्वयमा नसर्ने रोगहरुको दुईदिने बृहत स्क्रिनिङ शिविर संचालन गरिएको हो । दुई दिनसम्म संचालन हुने शिविरमा सुगर, प्रेसर, रगत, पिसाब, खकारलगायत नसर्ने रोगको परीक्षण गरिने आयोजकले जनाएका छन् ।
ग्रामीण भेगका नागरिकहरुलाई गाउँघरमै नसर्ने रोगको उपचार सेवा तथा विभिन्न प्रकृतिका रोगहरुको बारेमा सचेतना फैलाउने उद्देश्यले शिविर सञ्चालन गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो ।
गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले उद्घाटन गर्नुभएको शिविरमा ४० वर्षदेखि माथिका नागरिकहरुलाई लक्षित गरेर सोमबार र मंगलबार स्क्रिनिङ शिविर संचालन गरिएको बेनी नगरपालिकाका प्रमुख केसीले बताउनुभयो ।
शिविरको पहिलो दिनमा महिला २ सय १६ र पुरुष १ सय २९ जना गरी कुल ३ सय ४५ जनाको स्वास्थ्य परीक्षण गर्नुका साथै नमुना संकलन गरिएको नगरप्रमुख केसीले बताउनुभयो ।
गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले नसर्ने रोग विरुद्धको अभियानलाई प्रदेशभित्र समुदायस्तरमा पु¥याइने बताउनुभयो । उहाँले प्रदेश सरकारले जनताको स्वास्थ्यलाई प्राथमिकता दिएर काम गरिरहेको बताउँदै प्रदेशमार्फत अत्याधुनिक मेसिनको सहायताले प्रदेश अन्तर्गत विभिन्न जिल्लाको दुरदराजमा पुगेर नसर्ने रोगको शिविरहरु चलाइएको उहाँको भनाई थियो ।
बेनी नगरपालिकाका नगर प्रमुख केसीले नगरपालिकामार्फत हरेक महिनाको १५ गते प्रत्येक स्वास्थ्यचौकीमा नसर्ने रोगको स्क्रिनिङ क्याम्प चलाइएको बताउनुभयो । उहाँले महिनाको एकपटक ‘घरघरमा स्वास्थ्यकर्मी’ कार्यक्रममार्फत स्वास्थ्यकर्मीहरु परिचालन गरेर ज्येष्ठ नागरिकहरुको स्वास्थ्य अवस्थाको चेकजाँच गर्ने गरिएको बताउँदै गण्डकी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रका लागि आवश्यक उपकरण तथा जनशक्ति व्यवस्थापनमा सहयोग गर्नुपर्ने बताउनुभयो ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका स्वास्थ्य प्रशासक डा. रोशन ढकालले मन्तव्य व्यक्त गर्दै नसर्ने रोगबाट बच्नको लागि समयमै स्वास्थ्य परीक्षण गर्न सुझाव दिनुभयो ।
घतानस्थित नेप्टेचौरको राष्ट्रिय माविमा सञ्चालित स्क्रिनिङ क्याम्पको औपचारिक कार्यक्रम बेनी नगरपालिका ९ नम्बर वडाका वडा अध्यक्ष चक्रबहादुर केसीको अध्यक्षता, बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेको स्वागत र सिनियर अनमी लिलाकुमारी गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।
शिविरमा साविक घतान गाविसको सबै वडा र छिमेकी पुलाचौर तथा पात्लेखेतबाट समेत सेवाग्राहीहरु आएका छन् । स्क्रिनिङ शिविरमा प्रदेशको स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य प्रयोगशाला, बेनी अस्पताल, बेनी नगरपालिका र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्यादीबाट गरी कुल ३५ जना स्वास्थ्यकर्मीहरुको टोलीले सेवाग्राहीको स्वास्थ्य चेकजाँच गर्नुका साथै परामर्श सेवा उपलब्ध गराएको छ ।