विकल्प न्यूज/बेनी
पुस ४ गते ।
बेनी नगरपालिकाले विभिन्न क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्तिहरुलाई सम्मान गरेको छ । बिहिबार १६ औं नगरसभामा उत्कृष्ट कर्मचारी, शिक्षक, विद्यालय, टोल विकास संस्था र करदातालाई सम्मान गरिएको हो ।
नगरसभामा नगरप्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा लगायतले सम्मान सम्मान गर्नुभएको थियो ।
नगरपालिकाले शिक्षा अधिकृत कमल प्रसाद ढकाल, सहायक पाँचौ चन्द्रदत्त शर्मा, अशिष्टेन्ट सब इन्जिनियर सुनिल श्रेष्ठ, भकिम्ली स्वास्थ्य चौकीका सिनियर अनमी तारा बुढाथोकी, बेनी नगरपालिका– ७ का कार्यालय सहयोगी प्रकाश पुनलाई उत्कृष्ट कर्मचारीको रुपमा नगद ५ हजार रुपियाँ सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो ।
त्यसैगरि प्रकाश माविका प्रअ लेखबहादुर हमाललाई उत्कृष्ट शिक्षक र राष्ट्रिय मावि नेप्टेचौरकी प्रअ तारादेवी चोखाललाई उत्कृष्ट महिला शिक्षकको रुपमा जनही नगद ५ हजार रुपियाँको साथमा दोसल्ला र प्रमाणपत्रद्धारा सम्मान गरिएको थियो ।
त्यसैगरि उत्कृष्ट जिपिए ल्याउने विद्यालयहरुमध्ये सामुदायिकतर्फ प्रकाश मावि र संस्थागततर्फ लिटिल गार्डेन एकेडेमी, बेनी नगरपालिकामा सबैभन्दा बढी कर तिर्ने बेनी निवासी मिठु कुमारी श्रेष्ठ र उत्कृष्ट टोल विकास संस्थाको रुपमा विरेन्द्रचोक टोल विकास संस्थालाई प्रसंसापत्रद्धारा सम्मान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिनुभयो ।