विकल्प न्यूज/बेनी
पुस ४ गते ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) जलजला गाउँपालिका कमिटी वडा अधिवेशनमा जुटेको छ । गत मंसिरको तेस्रो साता सम्पन्न भएको पालिका कमिटीको दोस्रो अधिवेशनबाट नयाँ नेतृत्व आएसँगै वडास्तरमा पार्टीको अधिवेशन गर्न जुटेको हो ।
बिहिबार पार्टी कार्यालय पर्वन बेनीमा बसेको विशेष बैठकले पुस महिनाको तेस्रो हप्ता सम्म सबै वडा कमिटीको अधिवेशन गरिसक्ने निर्णय भएको पालिका कमिटीका अध्यक्ष नरबहादुर कार्कीले जानकारी दिनुभयो ।
जिल्ला कमिटीका अध्यक्ष गोविन्द पहाडी,गण्डकी प्रदेश कमिटीका सदस्य एवम् जलजला गाउँपालिका कमिटीका इन्चार्ज लालबहादुर अधिकारी,प्रदेश कमिटीका सल्लाहकार लोकनाथ रेग्मी,जलजला भूगोल भएका जिल्ला कमिटीका सदस्यहरु,गाउँपालिका कमिटीका पदाधिकारीहरु र वडा कमिटीका अध्यक्षहरु सहितको बैठकले नौ वटै वडाको अधिवेशन मिति तय गरि जिम्मेवारी बाँडफाँड समेत गरिएको पालिका कमिटीका सचिव निलकण्ठ सुवेदीले जानकारी दिनुभयो ।
सचिव सुवेदीका अनुसार वडा नम्बर १ बासखर्क र वडा नम्बर २ मल्लाजमा पुस १३ गते,वडा नम्बर ३ मल्लाजमा १७ गते,वडा नम्बर ४ फट्केढुङ्गामा १५ गते,वडा नम्बर ५ लेखफाँटमा १६ गते, वडा नम्बर ६ सालिजामा ९ गते वडा नम्बर ७ धाइरिङमा १४ गते,वडा नम्बर ८ नाग्लिबाङमा ११ गते र वडा नम्बर ९ बनौंमा १२ गते वडा अधिवेशनको मिति तय गरिएको छ ।
वडा अधिवेशनमा जनशहभागिता बढाउन र वडा अधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्न प्रदेश,जिल्ला र पालिका कमिटीका पदाधिकारी एवम् सदस्यहरुलाई जिम्मेवारी तोकीएको सचिव सुवेदीले जानकारी दिनुभयो ।
बैठकमा जिल्ला अध्यक्ष पहाडीले वडा कमिटीका अधिवेशनहरुलाई प्रभावकारी रुपमा सम्पन्न गर्न सवै तहका नेता तथा कार्यकर्ताहरु एकतावद्ध भएर परिचालन हुन निर्देशन दिनुभएको थियो ।
बैठकमा अध्यक्ष पहाडीले पार्टीको नीति तथा कार्यक्रम र जिल्ला कमिटीको आगामी योजनाका बारेमा प्रशिक्षणमुलक मन्तव्य व्यक्त गर्नुभएको थियो ।