बेनी नगरमा चालु तर्फ १९ करोड खर्च हुँदा पूँजीगत खर्च एककरोड ६५ लाख


विकल्प न्यूज\बेनी
पुस ४ गते ।

बेनी नगरपालिकामा चालु आर्थिक वर्षको पाँचमहिनाको अवधिमा पूँजीगत तर्फको बजेट खर्च न्यून देखिएको छ । यो अवधिमा चालु तर्फ १९ करोड २० लाख ८४ हजार रुपियाँ खर्च हुँदा पूँजीगत तर्फ एक करोड ६५ लाख ६२ हजार रुपियाँ मात्र खर्च भएको छ । बेनी नगरपालिकाको १६ औं नगरसभामा उप्रमुख ज्योती लामिछानेले चालु आर्थिक वर्ष २०८१\८२ को हाल सम्मको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

उपप्रमुख ज्योति लामिछानेद्धारा प्रस्तुत प्रतिवेदनमा आर्थिक विकास तर्फ ४ करोड ८२ लाख ९७ हजार रुपियाँ विनियोजन भएकोमा १३ लाख ७५ हजार खर्च भई जम्मा २.८५ प्रतिशत,सामाजिक विकास तर्फ ४० करोड ९२ लाख २१ हजार विनियोजन भएकोमा १५ करोड ६७ लाख ४७ हजार रुपियाँ खर्च भई ३८.२९ प्रतिशत,पूर्वाधार विकास तर्फ १२ करोड ४३ लाख २५ हजार बजेट विनियोजन भएकोमा एक करोड ५२ लाख ३० हजार खर्च हुँदा १२.२५ प्रतिशत प्रगति हासिल भएको छ ।

यस्तै सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा २ करोड ८१ लाख २० हजार बजेट विनियोजन भएकोमा २५ लाख ९० हजार खर्च भई ९.२१ प्रतिशत प्रगति हासिल भएको उपप्रमुख लामिछानेले सभामा जानकारी गराउनुभयो । कार्यालय संचालन तथा प्रशासनीक तर्फ ११ करोड ७८ लाख ५० हजार विनियोजन भएकोमा ३ करोड ३७ लाख २ हजार रुपियाँ खर्च हुँदा २७ प्रतिशत वित्तिय प्रगति देखिएको छ । सभामा उप्रमुख लामिछानेले चालु आर्थिक वर्षको पाँचमहिनाको अवधिमा समग्र रुपमा क्षेत्रगत तर्फ २८.५३ प्रतिशत बजेट खर्च भएको जानकारी गराउनुभएको थियो ।

बेनी नगरपालिकाले चालु आर्थिक वर्षका लागि चालु तर्फ ५३ करोड ६ लाख ९८ हजार र पूँजीगत तर्फ १९ करोड ७१ लाख १५ हजार गरी कुल ७२ करोड ७८ लाख १३ हजार रुपियाँ बजेट विनियोजन गरेको थियो ।

नगरपालिकाले यो अवधिमा एक करोड १९ लाख ९१ हजार रुपियाँ आन्तरिक आम्दानी संकलन गरेको छ । नगरपालिकाले चालु आवमा ४ करोड ५२ लाख ४० हजार रुपियाँ आन्तरिक आम्दानी गर्ने प्रक्षेपण गरेको थियो । नगरसभाबाट नगरपालिकाका १ करोड ६० लाख रुपियाँ थप बजेट विनियोजन गरेको छ।

नगर सभामा वडाका योजना तथा कार्यक्रमको बजेट समेत संशोधन गरी ४० वटा नयाँ योजना र संशोधित २८ योजनामा बजेट विनियोजन गर्दै नगरसभा समापन गरिएको छ । नगरप्रमुख सुरत केसीको अध्यक्षतामा भएको नगर सभामा वडा समितिबाट छनोट भई सिफारिस भएका योजनालाई न्यूनतम ९ लाख ५० हजार हजारदेखि ६ लाखसम्म बजेट विनियोजन गर्दै पारित भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।

नगर सभाबाट सडक मर्मत, पदमार्ग, बस्ती संरक्षण, स्वास्थ्य चौकी मर्मत, विपन्न आवास विस्तार,नाली तथा शौचालय निर्माण लगायतका विभिन्न योजनाहरू रहेका छन् । नगर सभामा नगर स्तरीय सम्भाव्यता अध्ययनका लागि ९ लाख ५० हजार, विपन्न आवास निर्माणमा ५ लाख सहित समपूरक कोषमा समेत बजेट विनियोजन गरिएको छ। संशोधित योजनाहरूमा वडा स्तरीय विकास निर्माण, आयआर्जन, पदमार्ग, विपद्जन्य सहयोगका साथै शिक्षा, स्वास्थ्य र समुदाय स्तरबाट गरिएको मागमा आधारित रहेको छ।


नगर सभामा ६ वटा विषयगत समिति आर्थिक, सामाजिक, पूर्वाधार, सेवा प्रवाह तथा सुशासन, वन तथा वातावरण तथा विपद् समिति र न्यायिक समितिले आफ्नो कार्य प्रगति प्रस्तुत गरेका थिए। नगर सभामा सम्बोधन गदैं नगर प्रमुख केसीले वडा स्तरबाट प्राथमिकता साथ आएका योजनाहरूलाई पारित गरिएको बताउँदै बजेट कार्यान्वयनमा जोड दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *