बेनीमा पुस २८ देखि आठौं संस्करणको म्याग्दी महोत्सव


ठाकुरप्रसाद आचार्य
म्याग्दी,मङ्सिर २३ गते ।

पर्यटन र व्यवसाय प्रवद्र्धन गरी आर्थिक क्षेत्रलाई चलायमान बनाउन निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघले आगामी महिना आठौं म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि,पर्यटन,औद्योगिक,व्यापार मेलाको आयोजना गर्ने भएको छ ।


पुस २८ गते देखि माघ ८ गतेसम्म सञ्चालन हुने महोत्सवको ३७ वटा उपसमिति गठन गरी तयारी थालिएको म्याग्दी उद्योग वाणिज्य संघले आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।


दश करोड रुपियाँ बराबरको आर्थिक कारोबार हुने महोत्सव सञ्चालनका लागि एककरोड २९ लाख रुपियाँ खर्चको अनुमान गरिएको छ ।
महोत्सव मार्फत जिल्लाको पर्यटन,कृषि,जलविद्युत,खनिज,वन पैदावारजन्य उद्योग ब्यवसायमा लगानी भिœयाउने,मौलिक कला संस्कृतिको संरक्षण र प्रतिभा पहिचानमा टेवा पु¥याउनु महोत्सव आयोजनाको मुल उद्देश्य रहेको संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । महोत्सवले सामानको खरिद बिक्री र मनोरञ्जनका लागि मात्र नभएर म्याग्दीको समग्र विकास र समृद्धिको संभावनालाई उजागर गर्ने उहाँले आशा व्यक्त गर्नुभयो ।


स्थानीय,राष्ट्रिय,अन्तर्राष्ट्रिय औद्योगिक,कृषि तथा पशुजन्य उत्पादनको प्रदर्शनी,पुरुष–महिला भलिबल,बास्केटबल,लोक दोहोरी गीत,कलाकारहरुको प्रस्तुती महोत्सवको प्रमुख आकर्षण रहने संघका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।


महोत्सवमा स्थानीय कला संस्कृतिको संरक्षणमा पनि जोड दिइएको संघले जनाएको छ । पुख्र्यौली नाच,रत्यौली गीत,भजन,म्याग्दी आइडल एकल लोक नृत्य,जातजातीको झाँकी प्रदर्शनी गरिने आयोजकले जनाएका छन् ।


महोत्सवका अवसरमा आयोजना गरिने अन्तर पालिकास्तरीय पुरुष भलिब प्रतियोगिताको बिजेतालाई एकलाख ५१ हजार रुपियाँ र उपबिजेतालाई ७५ हजार एकसय रुपियाँ पुरस्कारको व्यवस्था गरिएको छ ।


लोकदोहोरी गीत प्रतियोगितामा बिजेतालाई एकलाख एकसय र उपबिजेतालाई ६१ हजार एकसय रुपियाँ पुरस्कार प्रदान गरिने छ ।
महोत्सव सञ्चालनबाट भएको आम्दानीबाट म्याग्दी उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी हितकोषमा दश लाख रुपियाँ,विपत राहत कोषमा पाँचलाख रुपियाँ जम्मा गर्ने र टिकट बिक्रीबाट हुने केही प्रतिशत रकम म्याग्दीका विभिन्न सामाजिक संघ संस्थाहरुलाई सहयोग गरिने संघका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *