लोकदीप सहकारीको ११औं वार्षिक साधारणसभा सम्पन्न


विकल्प न्यूज\बेनी
मंसिर २३ गते ।

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिवार ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । वि.सं. २०७१ सालमा स्थापना भएको सहकारीमा शेयर पुँजी एक करोड ७० लाख ४१ हजार नौसय, बचत नौ करोड ३५ लाख २७ हजार पाँचसय ६७ र लगानी नौ करोड ८० लाख ४७ हजार ८० रुपैयाँ रहेको छ ।

साधारणसभामा संस्थाका सचिव अर्जुन पौडेलले प्रगति प्रतिवेदन,कोषाध्यक्ष भीमनाथ शर्माले आर्थिक र लेखा तथा सुपरिवेक्षण समिति संयोजक खोमराज पौडेलले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभाको अवसरमा उत्कृष्ट कारोबारतर्फ एरिका शर्मा, दैनिक बचततर्फ धनकुमारी पूर्जा, असल ऋणी धनमाया कार्की, मासिक बचततर्फ तिलु शर्मा र मोबाइल वालेट कारोबारमा जितबहादुर पाईजालाई सम्मान गरिएको प्रबन्धक नेत्रराज सुबेदीले जानकारी दिनुभयो ।

सहकारीका सदस्यले नियमित डिजिटल माध्यमबाट भुक्तानीलाई प्रोत्साहन सहित सहकारी शिक्षालाई प्राथमिकता दिएको छ । साधारणसभाको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले सहकारी संघसंस्थाहरु सहकारीको सिद्धान्त, नीतिनियम र मूल्यमान्यता अनुसार सञ्चालन हुनुपर्ने बताउनुभयो ।

सञ्चालक समिति, कर्मचारी इमान्दार रहेको सहकारीमा समस्या नभएको बताउँदै उपमेयर लामिछानेले बचतकर्ताको रुकम दुरुपयोग गर्ने सञ्चालक कानुनी सजायबाट उम्किन नसक्ने बताउनुभयो । सहकारी संस्थालाई राम्रोसँग सञ्चालन गर्नका लागि शेयर सदस्य,सञ्चालक समिति,कर्मचारी सबैले ध्यान दिन आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा सहकारीका निवर्तमान अध्यक्ष हरिकृष्ण शर्मा गौतम, अनुगमन उपसमिति सदस्य रुद्रप्रसाद सुवेदी र शेयर सदस्य मोहन बानियाँले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । साधारणसभामा उद्घाटनसत्रको कार्यक्रम संस्थाका अध्यक्ष प्रमिला जोशी श्रेष्ठले सहकारीको माध्यमबाट समुदायमा सहयोग तथा बचतकर्ताको सुरक्षा सहित वालेटको प्रयोग गरी घरबाटै आर्थिक कारोबार गर्ने गरी सहकारीले सेवा प्रवाह गरिरहेको बताउनुभयो ।

उहाँले बालबालिकादेखि बृद्धबृद्धासम्मलाई सहकारीमैत्री वातावरण बनाउन सफल भएको बताउँदै आगामी दिनमा समेत समाजमा स्थापित सहकारीको रुपमा लैजाने बताउनुभयो । सहकारीकी अध्यक्ष जोशीको अध्यक्षता, उपाध्यक्ष देवेन्द्र पौडेलको स्वागत र सचिव अर्जुन पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *