विकल्प न्यूज\बेनी
कात्तिक २६ गते ।
राष्ट्रिय गौरबको कालिगण्डकी करिडोर आयोजना अन्तर्गत बेनी–जोमसोम–कोरला सडक अन्तर्गत माथिल्लो मुस्ताङको चराङ खोलामा पक्की मोटरेबल पुल निर्माण सम्पन्न भएको छ । पुल निर्माण भएपछि माथिल्लो मुस्ताङको भ्रमणमा जाने पर्यटक र स्थानीयवासीहरुले सहज भएको छ ।
कालिगण्डकी करिडोर सडक आयोजना मुस्ताङले ठेक्का मार्फत उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङ खोलामा पक्की पुल निर्माण गरेको हो । पुल निर्माणका लागि आयोजनाले २०७५ साल असार २९ गते काष्ठमाण्डप कन्ट्रक्सनसँग १० करोड १८ लाख रुपियाँमा ठेक्का सम्झौता गरेको थियो ।
पुलको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट(राजु)ले उद्घाटन गर्नुभएको छ । पुल निर्माण भएपछि माथिल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकालाई जोड्ने हुँदा पर्यटक र स्थानीयवासीहरुलाई आवतजावतमा सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
ठेकेदारको ढिलासुस्तीका कारण समयमै पुल निर्माण हुननसकेपछि आयोजनाले दुईवर्ष अघि ठेक्का तोडेर कालोसूचीमा राख्ने चेतावनी दिएपछि निर्माण कम्पनी काममा फर्केएर पुल निर्माणमा जुटेको थियो ।
दुई स्पानको ८० मिटर लामो चराङ खोला पुलको सुरुवाती ठेक्का सम्झौताअनुसार २०७७ साल पुस ९ गते सकिनुपर्ने थियो । साढे २ वर्षको सम्झौता अवधि तोकिएको उक्त पुल निर्माणमा ढिलासुस्ती र वेवास्ताका कारण लामो समयसम्म अलपत्र परेको थियो ।
पाचौं पटक थपिएको म्याद पछि पुल निर्माण सम्पन्न भएको कालिगण्डकी करिडोर सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईले बताउनुभयो । उहाँका अनुसार पुल निर्माण भई सवारीसाधन आवतजावतका लागि खुल्ला गरिएको छ ।
आयोजना अनुसार कालिगण्डकी करिडोरको मालढुङ्गा देखि मुस्ताङको कोरला नाका सम्मको विभिन्न स्थानहरुमा गरेर १९ वटा मोटरेबल पुलको ठेक्का लागेको, १० वटा निर्माण सम्पन्न भएको, पाँचवटा निर्माणाधीन, पाँचवटाको ठेक्का तोडिएको र पाँचवटा पुलको ठेक्का प्रक्रिया प्रारम्भ गर्न बाँकी रहेको छ ।