विकल्प न्यूज/बेनी
कात्तिक २५ गते ।
बेनीसँग सीमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाले प्रधानाध्यापक र शिक्षकहरुका लागि अभिमुखिकरण कार्यक्रम गरेको छ ।
तीन दिन सम्म संचालित कार्यक्रममा गाउँपालिका भित्रका ४४ वटा विद्यालयका प्रअ र विषयगत शिक्षकहरु गरी ७० जनाको सहभागिता रहेको थियो ।
प्रधानाध्यापकहरूका लागि नेतृत्व र क्षमता विकास तथा विषयगत शिक्षकका लागि कार्यविधि अभिमुखीकरण तालिम गरिएको हो ।
कास्कीको लुम्लेस्थित क्षेत्रीय कृषि अनुसन्धान निर्देशनालयको सभा हलमा भएको कार्यक्रममा सी.टी.एफ नेपालका अध्यक्ष बद्री दाहाल र सहायक प्रशिक्षक दिनेश थापाले कार्यक्रमका सहभागीहरूलाई अभिमुखीकरण गर्नुभएको थियो ।
कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्य, उपाध्यक्ष दीपक आचार्य, शिक्षा शाखा प्रमुख यज्ञप्रसाद लामिछाने लगायतको पनि सहभागिता रहेको थियो । अध्यक्ष आचार्यले गाउँपालिकाले थालेको शैक्षिक गुणस्तर सुधार अभियानलाई टेवा पु¥याउन अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
उहाँँले शिक्षा क्षेत्रलाई नमूना बनाउन १० प्रकारका कार्यविधि र नौ प्रकारका विषयगत समितिहरू निर्माण गरेर काम थालिएको बताउनुभयो ।
अभिमुखीकरणमा सहभागी प्रधानाध्यापक र शिक्षकहरुले विज्ञहरू सहित नमुना कार्यविधिहरू निर्माण र विद्यालयमा लागू गर्ने विधिबारे आवश्यक योजनाहरू निर्माण गरेका छन् ।
अभिमुखीकरणबाट फर्किएपछि अब योजना कार्यान्वयनको लागि विद्यालयहरू सक्रिय हुने भन्दै पालिका अध्यक्ष आचार्यले जलजलाको शिक्षालाई प्रविधियुक्त र संस्कारयुक्त बनाउन निरन्तर प्रयास भइरहेको उल्लेख गर्नुभयो । नमुना कार्यविधि निर्माण गरेर जलजलाको शिक्षा क्षेत्रलाई दशकै नमुना बनाउने गरी काम गरिने र विगतदेखि नै शिक्षा क्षेत्रमा सुधार ल्याउन धेरै उल्लेखनीय कामहरू भएको उहाँको भनाई थियो ।