म्याग्दीमा पनि मनाइयो छठ पर्व


विकल्प न्यूज/बेनी
कात्तिक २२ गते ।

हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा पनि छठ पर्व मनाइएको छ । म्याग्दीमा बसोबास गर्ने तराईवासी नेपाली र भारतीय नागरिकले छठ पर्व मनाएका हुन् ।

बेनी नगरपालिका–८ स्थित कालीगण्डकी नदी किनारमा मिथिलाञ्चलवासीले आज साँझ छठी देवीको पूजाआजा र नदीमा गएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिए । प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वले धार्मिक र सामाजिक सद्भावको सन्देश दिएको छ । उनीहरूले भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिने छन् ।


नुहाएर शुद्ध बस्त्र लगाई व्रत बस्ने गरिएको बेनीमा व्यवसाय गर्दै आएका सञ्जय ठाकुरले बताए । नाङ्लो, कनसुप्ती, ढकना, सरबालगायत प्रसाद लिएर नदी किनारमा उभिएका उनीहरूले सूर्यलाई अर्घ्य चढाएका थिए ।

उनीहरूले भुसवा, केरा, नरिवल, उखु, सुन्तला, कागती, फर्सी, सिंगारा, पान, सुपारी, धूप, दीप, अरतक, पात, चना आदिको प्रसाद बनाएर चढाएका थिए । छठ मनाउन जम्मा भएका मिथिलाञ्चलवासीलाई बेनीमा बसोबास गर्ने अन्य समुदायले शुभकामना दिएका थिए । म्याग्दीमा विस २०७७ देखि छठ मनाउन सुरु गरिएको हो । सरकारले ०७६ साल फागुनमा म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गरेको थियो । रासस