अन्नपूर्णमा पर्यटकीयस्थलबाट एक करोड २७ लाख आम्दानी


ठाकुरप्रसाद आचार्य /बेनी
म्याग्दी(बेनी) कात्तिक २ गते ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय स्थलहरुबाट चालु आर्थिक वर्षको सुरुमै एक करोड २७ लाख ६३ हजार पाँचसय ३७ रुपियाँ आन्तरिक आम्दानी गरेको छ । पर्यटनलाई आन्तरिक आम्दानीको मुख्य स्रोत मानेको गाउँपालिकाले पर्यटकीय स्थलहरुलाई आय ठेक्कामा लगाएर उक्त आम्दानी गरेको हो ।


गाउँपालिका भित्र रहेका मुख्य पर्यटकीय स्थलहरु घोडेपानीको पुनहिल,भुरुङतातोपानी कुण्ड,पाउद्धार तातोपानी कुण्ड र रातोपानी तातोपानी कुण्डमा क्यान्टिन संचालन र प्रवेश शुल्क संकलनका लागि आय ठेक्कामा लगाएर पालिकाको आन्तरिक आम्दानी गरेको हो ।


अन्नपूर्ण–६ स्थित प्रशिद्ध पर्यटकीयस्थल पुनहिललाई ४० लाख एकसय रुपियाँ, वडा नं २ को भुरुङतातोपानी कुण्डलाई ५६ लाख २५ हजार तीनसय ७७ रुपियाँ,वडा नम्बर ५ को पाउद्धार तातोपानी कुण्डलाई २८ लाख ७६ हजार ५०५ रुपियाँ र वडा नम्बर ६ स्थित रातोपानी तातोपानी कुण्डलाई दुई लाख ६१ हजार ५५५ रुपियाँमा आय ठेक्कामा लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी दिनुभयो ।


प्रतिस्पर्धा मार्फत सबैभन्दा बढी रकम कबोल गर्ने होटल हटस्प्रीङ प्रा.लि अन्नपूर्ण २ सँग दुई पर्यटकीयस्थल पुनहिल र भुरुङ तातोपानी कुण्ड संचालन, क्यान्टिन र प्रवेश शुल्क संकलन गर्ने अनुमति सहित गाउँपालिकाले सम्झौता गरेको छ ।


यसैगरी कालिगण्डकी रुफटप रेष्टुरेन्ट अन्नपूर्ण २ ले पाउद्धार तातोपानी कुण्ड र एभरेष्ट होटल अन्नपूर्ण ६ ले रातोपानी तातोपानी कुण्ड संचालनको अनुमति पाएको गाउँपालिकाले जनाएको छ । अग्रिमरुपमा रकम जम्मा गर्नेलाई कार्यविधिअनुसार १० प्रतिशत छुट दिएर आय ठेक्का सम्झौता गरिएको छ ।

पर्यटकीय स्थलहरुलाई व्यवस्थित रुपमा संचालन गर्नुका साथै पालिकाको आन्तरिक आम्दानी समेत वृद्धि गर्न आय ठेक्कामा लगाइएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘पर्यटकीयस्थलमा प्रवेश शुल्क, कफीसफ तथा रेस्टुरा सञ्चालन गर्न एक वर्षका लागि अनुमतिसहित आय ठेक्का सम्झौता गरेका छौं । पुनहिल बाहेकका अन्य पर्यटकीय स्थलहरुमा चालु आवको सुरुमै ठेक्का सम्झौता भएको थियो । चौथो पटक सम्म सूचना प्रकाशित गरेर पुनहिलको पनि सम्झौता गरेका छौं ।’’
गाउँपालिकाले खोप्रालेक, मोहरेडाँडा, रुप्से छहरा, घोडेपानी, अन्नपूर्ण आधार शिविरको छोटेपा र हुमखोला लगायतका ठाउँमा रहेका होटल, रेस्टुरा तथा कफिसफबाट समेत व्यवसाय कर संकलन गरेर आन्तरिक आम्दानी गर्दै आएको छ ।


घोडेपानी, पुनहिल, मोहरेडाँडा, खोप्रा, खयरलेक, रुप्से, नारच्याङ र महभिर झरना, विभिन्न ठाउँका तातोपानी कुण्डहरु रहेको यस गाउँपालिकाको वडा नं ४ नारच्याङमा ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल पर्दछ ।


गाउँपालिकाभित्र रहेका पर्यटकीयस्थलको पूर्वाधार विकास, प्रचार–प्रसार र प्रवद्र्धन गर्दै स्थानीयवासीको जीवनस्तर सुधारसँगै गाउँपालिकाको आन्तरिक आम्दानी बढाउन तर्फ जोड दिइएको गाउँपालिकाका अध्यक्ष पुनले बताउनुभयो । अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधारशिविरमा पर्यटकीय पूर्वाधार निर्माण र प्रचारप्रसार गरेर उत्कृष्ट पर्यटकीय गन्तब्य बनाउने लक्ष्य रहेको उहाँले बताउनुभयो । साभार ः गोरखापत्र अनलाइन


Leave a Reply

Your email address will not be published. Required fields are marked *