नेकपा(एमाले) पर्वतले जनसंगठनहरुलाई व्यवस्थित रुपमा परिचालन गर्ने

असोज १९ गते ।


नेकपा (एमाले) पर्वतले जनसंगठनहरुलाई व्यवस्थित रुपमा परिचालन गर्ने भएको छ । शुक्रबार पार्टी कार्यालय कुस्मामा जिल्ला स्तरिय समन्वय संयन्त्रको पहिलो विस्तारित बैठकले जनसंगठनहरुलाई प्रभावकारी रुपमा परिचालन गरी जनताको बिचमा लैजाने कार्ययोजना निर्माण गरेको हो ।


बैठकमा नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय अध्यक्ष मनोहोर वि पौडेलले पार्टीका जनबर्गिय संगठनहरु व्यवस्थित रुपमा परिचालन भएमात्र पार्टी बलियो हुने विचार व्यक्त गर्नुभयो ।


पार्टीले जनताका पक्षमा गरेका राम्रा कामहरुको प्रचारप्रसार गर्ने महत्वपूर्ण जिम्मेवारी पनि जनसंगठनहरुको भएको उहाँको भनाई थियो । जिल्लामा रहेका जनबर्गिय संगठनहरुको सदस्यता वितरण,अधिवेशन तथा भेला,नियमित बैठक लगायतका कामहरुलाई प्रभावकारी रुपमा अघि बढाउन उहाँले अनुरोध गर्नुभयो ।


जनबर्गिय संगठनले आ–आफना मुद्दाहरु शसक्त रुपमा उठाउदै पार्टीको मिसन २०८४ लाई सफल बनाउन सबै जनबर्गिय संगठनहरु क्रियाशिल हुनुपर्ने उहाँको भनाई थियो ।


पार्टीको विचार,सिद्धान्त,नीति तथा कार्यक्रम र जनताको पक्षमा भएका राम्रा कामहरुलाई प्रचारप्रसार गरी पार्टीलाई बलियो बनाउन महत्वपूर्ण भूमिका भएकाले जनसंगठनहरुलाई प्रभावकारी रुपमा परिचालन गर्ने कार्ययोजना निर्माण गरिएको पार्टी अध्यक्ष गोविन्द पहाडीले जानकारी दिनुभयो ।


उहाँले भन्नुभयो, ‘‘पार्टीलाई पर्वतमा निर्णयक शक्तिका रुपमा स्थापित गर्न चाहन्छौं । पार्टीले लिएको मिसन २०८४ लाई सफल पार्न पार्टी समर्थित जनबर्गिय संगठनहरुलाई जनमैत्री काममा परिचालन गरी नेकपा एमाले पर्वतलाई बलियो शक्तिका रुपमा अघि सार्ने योजना छ ।’’ पार्टीको आन्तरिक एकतालाई थप बलियो र सृदृढ बनाउन आफूले सक्दो कोशिस गरेको उहाँको भनाई थियो ।


जिल्लामा रहेका २२ वटा जनबर्गिय संगठनहरुको नियमित बैठक,सदस्यता वितरण,अवधि पुगेका जनसंगठनहरुको अधिवेशन तथा भेला गर्ने लगायतका निर्णयहरु भएको पार्टीका जिल्ला सचिव सुवासचन्द्र पौडेलले जानकारी दिनुभयो ।


बैठकमा अनेम संघको केन्द्रीय सदस्य जुना नेपाली, लोकतान्त्रिक आदिवासी जनजाती महासंघको केन्द्रीय सदस्य यामकुमारी राना अनेमसंघ जिल्ला कमिटीको अध्यक्ष हिरादेवी शर्मा, प्रेस चौतारीका केन्द्रीय सदस्य गणेश पौडेलले जनसंगठनहरुको कामकारवाहीलाई व्यस्थित बनाई जनमैत्री कामहरुलाई प्रभावकारी रुपमा लैजानुपर्ने विचार व्यक्त गर्नुभयो । बैठकमा जनबर्गिय संगठनका जिल्ला अध्यक्षहरुले संगठनको आगामी योजनाका बारेमा रिपोर्टीङ गर्नुभएको थियो ।


पार्टीको दशौं जिल्ला अधिवेशन पछि पहिलो पटक बसेको जनसंगठन संयन्त्रको बैठकमा जनबर्गिय संगठनका जिल्ला अध्यक्ष,केन्द्रिय तथा प्रदेश सदस्य र जिल्ला पार्टीले तोकेका जनसंगठनका इन्चार्जहरुको सहभागिता रहेको थियो । आगमी दिनमा पनि बैठकलाई निरन्तरता दिने पार्टीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *