मालिका गाउँपालिकामा नौसय जनाको निशुल्क स्वास्थ्य बिमा


ठाकुरप्रसाद आचार्य
असोज १७ गते ।


म्याग्दीको मालिका गाउँपालिकाले चालु आर्थिक वर्षदेखि लोककल्याणकारी नीतिलाई अघि सारेको छ । गाउँपालिकाले गरिब तथा विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बिमामा समावेश गर्ने नीति गत असारमा सम्पन्न भएको गाउँसभाबाट पारित गरेको थियो ।
चालु आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रममा समावेश भएको बिमा कार्यक्रम कार्यान्वयन सुरु भएको गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो । बिमा कार्यक्रमले गरिब तथा विपन्न नागरिकको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
आर्थिक अवस्था कमजोर भएका गाउँपालिका भित्रका गरिब तथा विपन्न नागरिकहरुलाई स्वास्थ्य उपचारमा सहजता ल्याउन पालिकाले निशुल्क स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको उहाँले बताउनुभयो ।


चालु आर्थिक वर्षमा गरिब तथा विपन्न,दलित र महिला स्वयमसेविकाहरु गरेर नौसय जनाको पालिकाले प्रतिनागरिक तीनहजार पाँचसय रुपियाँका दरले बिमा शुल्क भुक्तानी गरेर स्वास्थ्य बिमा कार्यक्रममा समावेश गर्न लागिएको गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो ।
निशुल्क बिमा कार्यक्रमका लागि चालु आर्थिक वर्षमा गरिब,विपन्न र दलितका लागि ३० लाख र महिला स्वयमसेविकाको लागि ३ लाख गरेर ३३ लाख रुपियाँ बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष गर्बुजाले जानकारी दिनुभयो ।


आर्थिक अवस्था कमजोर भएका कारण गरिब तथा बिपन्न घरपरिवार स्वास्थ्य सेवाबाट बञ्चित हुननपरोस भनेर गाउँपालिकाले नै उनीहरुको स्वास्थ्य बिमा गरिदिन लागेको उहाँले बताउनुभयो ।


उहाँले भन्नुभयो, ‘‘स्वास्थ्य बिमा कार्यक्रममा समावेश हुन आवश्यक पर्ने तीनहजार पाँचसय रुपियाँ शुल्क तिर्न नसकेका कारण गरिब तथा विपन्न घरपरिवार स्वास्थ्य बिमा कार्यक्रममा समावेश हुनबाट बञ्चित हुनुपरेको छ । त्यस्ता परिवारहरुलाई स्वास्थ्य सेवामा पहुँच वृद्धिका लागि निशुल्क स्वास्थ्य बिमा कार्यक्रम संचालन गरेका छौं ।’’


एउटा घरपरिवारमा एकजना सदस्यको स्वास्थ्य बिमा गरेपछि पाँचजना सदस्यहरुले एक वर्षको अवधिमा एकलाख रुपियाँ बराबरको स्वास्थ्य उपचार सेवा पाउने व्यवस्था भएकाले गाउँपालिको संचालन गरेको निशुल्क बिमा कार्यक्रमबाट गरिब तथा विपन्न नागरिकहरु लाभान्वित हुने पालिका अध्यक्ष गर्बुजाले विश्वास व्यक्त गर्नुभयो ।

Adv


बिमा कार्यक्रम कार्यान्वयन गर्न वडातहमा लाभग्राहीहरुको तथ्याङ्क संकलन सुरु गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । बिमा कार्यक्रममा समावेश हुने गरिब,विपन्न,दलित र महिला स्वयमसेविकाहरुको वडा तहबाट तथ्याङ्क संकलनको काम थालिएको गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक सन्तुकुमारी कार्कीले जानकारी दिनुभयो ।


वडा तहमा संकलन भएका लाभग्राहीको नामवाली उपर वडा कार्यालयले छानविन गरी गाउँपालिकामा पठाउने र गाउँ कार्यापालिकाको बैठकबाट निर्णय भएपछि स्वास्थ्य बिमाको दर्ता सहयोगी मार्फत तोकिएका नागरिकहरुको बिमा गरिने उहाँले बताउनुभयो । असोज महिनाभित्र दर्ता सहयोगी मार्फत बिमा गरिसक्ने योजना रहेको उहाँले बताउनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *