सहकारी ठगीमा फरार ढोरपाटनका मेयर देवकुमार नेपाली दिल्लीबाट पक्राउ

विकल्प न्यूज/बेनी
असोज ११ गते ।

सहकारी बचतकर्ताको रकम अपचलन गरी २०८० जेठदेखि फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको नयाँ दिल्लीबाट पक्राउ परेका छन् ।

उनलाई शुक्रबार नेपाल प्रहरीले भारतको नयाँ दिल्लीबाट पक्राउ गरेको नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका नेपालीलाई नेपाल ल्याउन आवश्यक कुटनीतिक प्रक्रिया अघि बढाइसकिएको छ । २०८० माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नेपालीविरुद्ध रेड नोटिस जारी गरेको थियो ।

बागलुङ र पोखरामा इमेज सहकारी खोलेर बचत अपचलन गरी उनी फरार रहेका थिए । यो सहकारी प्रकरणमा मुछिएका अरू केही सञ्चालक र कर्मचारीविरुद्ध मुद्दा चलेपनि उनी कारबाहीको दायराबाहिर थिए ।

उनी इमेज सहकारीका संस्थापक अध्यक्ष हुन् । उनीसहित सहकारी सञ्चालकले १ हजार ५ सयभन्दा बढी बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम अपचलन गरेको मुद्दा बागलुङ जिल्ला अदालतमा विचाराधीन छ । उनीसहित ११ जनाविरुद्ध २०८० असार २५ गते जिल्ला सरकारी वकिलको कार्यालय बागलुङले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *