एकवर्षको अवधिमा बेनी अस्पतालबाट करिब ७४ हजारले सेवा लिए


विकल्प न्यूज/बेनी
असोज ७ गते ।

म्याग्दीको बेनी अस्पतालबाट अघिल्लो आर्थिक वर्ष २०८०÷०८१ मा करिब ७४ हजार विरामीले उपचार सेवा लिएका छन् । सोमबार बेनी अस्पतालले आयोजना गरेको वार्षिक समिक्षा गोष्ठीमा अघिल्लो वर्ष ७३ हजार ९ सय ३० जनाले ओपिडी सेवा लिएको जानकारी गराइएको थियो ।
बेनी अस्पतालले ओपिडी सेवा विस्तार गरेपछि सेवाग्राहीको संख्यामा वृद्धि भएको अस्पतालले जनाएको छ । अस्पतालले सार्वजनिक विदा र शनिबार समेत गरेर विहान ७ बजे देखि बेलुका ८ बजे सम्मनै ओपिडी सेवा विस्तार गरेको छ ।
कार्यक्रममा अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. अन्जु थापाले आर्थिक वर्ष २०८०\०८१ को वार्षिक समिक्षा प्रस्तुत गर्नुभएको हो । उहाँले अस्पतालले सुरु सेवा विस्तारले विरामीलाई सेवा लिन सहज हुनुका साथै सेवाग्राहीको संख्यामा पनि वृद्धि भएको बताउनुभयो ।
सार्वजनिक विदा तथा शनिबारको दिन समेत गरि हरेक दिन बिहान ७ बजेदेखि बेलुकी ८ बजे सम्म विस्तार गरिएको सेवाले विरामीहरुलाई सहजता प्रदान गरेको छ । डा. थापाका अनुसार करिव ४५ प्रतिशत विरामीले विहान र बेलुकाको समयमा सेवा लिने गरेका छन ।
अस्पतालले मानसिक रोग,महिला तथा प्रस्तुती रोग, जनरल फिजिसियन, बाल रोग, हाडजोर्नी तथा नशा रोग, जनरल सर्जरी लगायतका विशेषज्ञ सेवाहरु दैनिक रुपमा उपलब्ध गराउँदै आएको छ ।


भवन निर्माण कार्यले पूर्णता नपाउदा भने सेवा प्रदानमा असहजता उत्पन्न भईरहेको कार्यालय प्रमुख डा.थापाको भनाई थियो । स्वास्थ्य विमा वोर्डले विरामी उपचार वापतको रकम समयमै भूक्तानी नगर्दा समस्या हुने गरेको पनि उहाँले बताउनुभयो ।


कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राज कुमार थापाले अस्पतालको सेवालाई थप प्रभावकारी बनाउनु आग्रह गर्नुभयो । उहाँले अस्पतालको भवन निर्माण कार्यलाई पूर्णता दिन केन्द्र र प्रदेश सरकारलाई घच्घच्याउने काम गरिरहेको पनि बताउनुभयो । साथै उहाँले जिल्लाका मिडिया तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई अस्तालबाट उपलब्ध सेवा तथा अन्य व्यवस्थापनका विषयमा सकरात्मक सन्देशहरु आम जनतामाझ प्रवाह गर्न पनि आव्हान गर्नुभयो ।

कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले अस्पतालबाट गुणस्तरीय सेवा प्रवाह भईरहेको बताउनुभयो । जनशक्ति र भौतिक संरचना अनुसारको सेवा प्रवाहमा कुनै कमजोरी भएको छैन, उहाँले भन्नुभयो, “प्रदेश सरकारले कर्मचारी हेरफेर गर्दा समस्या उत्पन्न भईरहेको त छ तर पनि हामी जे जति सकिन्छ व्यवस्थापन गरिराखेकै छौँ” ।

#ADV


अस्पतालमा विशेषज्ञ डाक्टरहरुको संख्या न्युन भएकाले सेवा प्रदानमा असहजता हुने गरेको बताउँदै उहाँले जिल्लाका स्थानीय तह मिलेर कम्तिमा एउटा विशेषज्ञ डाक्टर व्यवस्थापन गर्न सके अस्पतालको सेवा थप प्रभावकारी हुने विचार व्यक्त गर्नुभयो ।

उहाँले अस्पतालको भवन निर्माण कार्यलाई सम्पन्न गर्न हाल निर्माण कम्पनीले काम सुचारु गरेको बताउनुभयो । कार्यक्रममा जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी संघ, संस्था तथा कार्यालयका प्रमुख, प्रतिनिधि एवम् संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *