Search

कार्ययोजना सहित संगठन निर्माणमा अघि बढ्यो एमाले पर्वत


असोज ६ गते ।

नेकपा एमाले जिल्ला कमिटी पर्वतले पार्टीलाई थप बलियो र निर्णयक शक्तिका रुपमा अगाडि बढाउन विस्तृत कार्ययोजना निर्माण गरेको छ ।
शनिबार सम्पन्न जिल्ला कमिटीको तेस्रो पूर्ण वैठकले पार्टी केन्द्रिय कमिटीले जारी गरेको निर्णयक राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजनालाई आत्मसाथ गर्दै जिल्लामा मिसन २०८४ लाई सफल पार्न एकतावद्ध ढङ्गले अघि बढ्ने निर्णय गरेको हो ।
पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरुलाई एकताबद्ध बनाएर पार्टी काममा प्रभावकारी रुपमा परिचालन गर्ने विस्तृत कार्ययोजना सहित संगठन निर्माणमा अघि बढ्ने निर्णय भएको पार्टीका जिल्ला अध्यक्ष गोविन्द पहाडीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘पर्वतमा पार्टीलाई थप बलियो र निर्णयक शक्तिका रुपमा उभ्याउँदै मिसन २०८४ लाई सफल पार्न एकताबद्ध भएर अघि बढ्ने अठोट गरेका छौं । नेता तथा कार्यकर्ताहरुको क्षमता,योग्यता र सक्रियताका आधारमा जिम्मेवारी प्रदान गर्ने,जनतासँगको सम्बन्धलाई सुदृढ बनाउन घरघरमा पुग्ने,राजनीतिक र बैचारीक प्रशिक्षणलाई निरन्तरता दिने,पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई जनतासँग जोड्ने,आर्थिक–सामाजिक रुपान्तरण र जनचासोका विषयहरुलाई पार्टीका तर्फबाट सम्बोधनका लागि तीनै तहका सरकारसँग पहल गर्ने र पार्टी कामलाई प्रभावकारी रुपमा संचालन गरेर जिल्लामा बलियो निर्णयक शक्तिका रुपमा स्थापित गर्न अभियान सञ्चालन गरिने छ ।’’

वैठकमा पार्टी स्थानीय कमिटी सदस्य एवम् गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले बर्तमान राजनीतिक परिवेश,एमाले कांग्रेसको गठबन्धन सरकार,संविधान संसोधनको बहश र पार्टीको नीति तथा कार्य योजनाका वारेमा प्रशिणमुलक विचार व्यक्त गर्नुभएको थियो । उहाँले बर्तमान सरकार गठन भएदेखि जनतामा आशा जागेको बताउनुभयो । सरकारले गरेका राम्रा कामहरुको प्रचारप्रसार गरी जनतामा भएको भ्रमलाई चिर्नुपर्ने उहाँको भनाई थियो । नयाँ शक्तिका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीको मुख्य नेतृत्व नै जनताले सहकारीमा जम्मा गरेको निक्षेपलाई हिनामिना पारेको बताउनुभयो । जनताले मुलुकको आर्थिक विकास र समृद्धिका लागि नेकपा एमालेलाई बलियो निर्णयक शक्तिका रुपमा विश्वास गरेको उहाँले बताउनुभयो ।


यसैगरी पूर्व मन्त्री समेत रहनुभएका पार्टीका केन्द्रिय सदस्य एवम् पर्वत जिल्ला इन्चार्ज पदम गिरीले पार्टीलाई बलियो बनाउन सबै नेता तथा कार्यकर्ताहरुलाई एकताबद्ध बनाएर पार्टी काममा परिचालन गर्न जिल्ला कमिटीलाई निर्देशन दिनुभएको थियो । उहाँले अधिवेशनबाट बाहिर परेका नेताहरुलाई उचित जिम्मेवारी प्रदान गरी पार्टी कामलाई प्रभावकारी रुपमा परिचालन गर्ने बताउनुभयो ।
पार्टीका केन्द्रिय सल्लाहकार परिषदका सदस्य मेघनाथ सुवेदी,गण्डकी प्रदेश कमिटीका उपसचिव मञ्जु अधिकारी र गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य एवम् गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बत्स्यालले पार्टीलाई पर्वतमा बलियो निर्णयक शक्तिका रुपमा अगाडी बढाउँदै जनतामा स्थापित बनाउन नेता तथा कार्यकर्ताहरु एकताबद्ध भएर लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो । गुटउपगुटमा रमाउने भन्दा पनि पार्टीलाई बलियो बनाउनु पर्ने उहाँहरुको सुझाव थियो ।


तेस्रो पूर्ण बैठकले पाँचवटा विभागहरुको प्रमुख तोकेको पार्टीका सचिव सुवासचन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टी अध्यक्ष पहाडीलाई स्कुल विभागको प्रमुख,उपाध्यक्ष बिमल लामिछानेलाई स्थानीय विकास विभागको प्रमुख,सचिव पौडेललाई संगठन विभाग प्रमुख,उपसचिव चण्डीप्रसाद भुर्तेललाई वित्त तथा कोष व्यवस्थापन विभागको प्रमुख,विन्दु अधिकारीलाई निर्वाचन विभाग प्रमुख र जिल्ला कमिटी सदस्य ठाकुरप्रसाद आचार्यलाई प्रचार तथा प्रकाशन विभागको प्रमुख बनाउने निर्णय गरेको छ ।


बैठकले यसअघि जिल्ला कमिटीले तयार पारेको विस्तृत वार्षिक कार्ययोजनालाई थप परिस्कृत र संसोधन गर्दै पार्टी कामलाई व्यवस्थित र प्रभावकारी ढङ्गले अगाडी बढाउने निर्णय गरेको प्रचारप्रसार विभावका प्रमुख आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार बार्षिक कार्ययोजनामा पार्टी सदस्यता नविकरण,विस्तार, एवम् अभिलेखीकरण,नियमित रुपमा अधिवेशन आयोजना र व्यवस्थापन,पार्टी प्रवेश,पार्टी अधिवेशनबाट बाहिरीएका\विदा भएकाहरुको व्यवस्थापन,पार्टी कमिटी र कार्यकर्ताको कामको मूल्याङ्कनलाई वार्षिक कार्ययोजनामा समावेश गरिएको छ ।


यसैगरी विधिसम्मत रुपमा पार्टी कमिटीको परिचालन र अन्तरविरोधको व्यवस्थापन,पार्टी प्रशिक्षणका कार्यक्रमहरु,स्थानीय सरकार र जनप्रतिनिधिहरुको प्रभावकारी परिचालन,पार्टी कार्यालय व्यवस्थापन र सञ्चालन,व्यवस्थित प्रचार कार्य र प्रचार सञ्जालको विस्तार,कामको नयाँ क्षेत्रहरुको खोजी र जिम्मेवारी नपाएका कार्यकर्ताहरुको परिचालन,बजेट निर्माण र स्रोत परिचालन,पार्टी जिवनको शुद्धिकरण,आर्थिक सामाजिक रुपान्तरण र जनचासोका विषय सम्बोधन,जिल्लाको विकास र समृद्धिका लागि विकास योजनाको नेतृत्व,स्थानीय तह सम्म जनसंगठन सुदृढिकरण र विस्तार,नयाँ पुस्तामा पार्टीको काम,जनसम्बन्ध विस्तार,पार्टी कामको नियमित रिपोर्टिङ र सामाजिक सामुदायिक काममा ख्याती आर्जन गरेका व्यक्तिहरुलाई पार्टी नेतृत्वमा ल्याउने लगायतका वार्षिक कार्ययोजनामा समावेश गरिएको छ ।


अध्यक्ष पहाडीले वैठकमा प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनलाई पारित गरेको छ । वैठकमा स्थानीय तहका कमिटीको पार्टी काम,योजना र कार्यक्रमका वारेमा पालिका कमिटीका अध्यक्षहरुले रिर्पोटिङ गर्नुभएको थियो । वैठकमा गण्डकी प्रदेश कमिटीका सदस्यहरुको पनि सहभागिता रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *