नेपाली कांग्रेसद्धारा जलजला गाउँपालिका सम्मानित


विकल्प न्यूज/बेनी
भदौं २७ गते ।

नेपाली कांग्रेसले पर्वतको जलजला गाउँपालिकालाई सम्मान गरेको छ । स्थानीय तहको संस्थागत क्षमता स्व–मूल्याङ्कन -Lisa)को आर्थिक वर्ष २०७९\८०को मुल्याङ्कनमा ८६ अंक प्राप्त गरी नेपाली कांग्रेसले नेतृत्व गरेका स्थानीय तहहरु मध्य जलजला गाउँपालिका प्रथम भएको भन्दै पार्टीले सम्मान गरेको हो ।


विहिबार पार्टीको केन्द्रिय कार्यालयमा केन्द्रीय सदस्य मधु आचार्यको संयोजकत्वमा रहेको स्थानीय तह समन्वय विभागको आयोजनामा आयोजित सम्मान कार्यक्रममा पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले पालिका अध्यक्ष राजुप्रसाद आचार्यलाई सम्मान गर्नुभएको हो । साथै उक्त कार्यक्रममा देशभरका उत्कृष्ट २१ स्थानीय तहहरुलाई सम्मान गरिएको थियो ।


भदौं महिनाको पहिलो हप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजामा गण्डकी प्रदेशभर जलजला गाउँपालिका दोस्रो भएको थियो ।


मन्त्रालयले गाउँ÷नगरपालिकाको कार्य प्रक्रिया र उपलब्धीको लेखाजोखा गरी शासकीय प्रकृया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने,आवधिक समिक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबीच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यले स्थानीय तह संस्थागत क्षमता मुल्याङ्कन गर्ने गर्दछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *