निर्माण क्षेत्रकी एक साहसी महिला गौमती


ठाकुरप्रसाद आचार्य
म्याग्दी, भदौं २५ गते ।

डेढदशक अघि निर्माण क्षेत्रमा मजदुर भएर भित्रिनुभएकी रोल्पाकी गौमती बुढामगर अहिले सफल निर्माण व्यावसायीको परिचय बनाउनुभएको छ । महिलाहरु पनि निर्माण क्षेत्रमा काम गरेर सफल व्यावसायी बन्न सक्छन् भन्ने नमूना उदाहरण गौमतीले प्रस्तुत गर्नुभएको छ ।

३८ वर्षीय गौमतीले डेढदशकको यो अवधिमा विभिन्न आयोजनाहरुमा कठिन र चुनौतीपूर्ण कामको जिम्मा लिएर सम्पन्न गरिसक्नुभएको छ । पुरुषहरुले आँट गर्न नसक्ने भिर पहरामा झुण्डिएर काम गरेको अनुभव गौमतीसँग छ । उबेला मनाङको चामे सडक निर्माणका लागि श्रीमान सहविर घर्तीमगर सँगै गौमती मजदुरी गर्न जानुभएको थियो । त्यहाँ पाँचवर्ष मजदुरका रुपमा उहाँले सडक निर्माणको काम गर्नुभयो ।


गौमतीले रोल्पा लगायतका अन्य जिल्लाहरुबाट सडक निर्माणमा लागि आवश्यक पर्ने जनशक्तिको वन्दोवस्तीको काम समेत गर्दै आउनुभएको थियो । मनाङको सडक निर्माणको काम सकेपछि विंस.२०७० मा म्याग्दी आउनुभएकी गौमतीले यहाँको घलेम्दीखोला,मिस्त्रीखोला र निलगिरी जलविद्युत आयोजनाको पहुँचमार्ग निर्माण,रक कटिङ लगायतका कठिन स्थानहरुमा काम गर्नुभयो ।


निकै चुनौती मानिएको घलेम्दी जलविद्युत आयोजनामा पेनस्टक पाइपलाइन निर्माण र अक्करे भिरमा एंकर ब्लक निर्माणको काम गरेको उहाँले बताउनुभयो । मिस्त्री खोला जलविद्युत आयोजनाको पहुँचमार्ग निर्माणको काम पनि निकै कठिन र जोखिपूर्ण थियो उहाँले भन्नुभयो, ‘‘कडा भिरमा रक कटिङ गरेर सडक निर्माण गर्नुपर्ने थियो । यो निकै चुनौती र जोखिमपूर्ण काम थियो । त्यो काम मेरो नेतृत्वमा सफलतापूर्वक सम्पन्न भयो ।’’

कामप्रति लगनशिल,जिम्मेवार भएर विश्वास आर्जन गर्नुभएकी गौमतीलाई अहिले भने भ्याइनभ्याई छ । आयोजनाहरुले कठिन र भिरपहराको कामको जिम्मा गौमतीलाई नै जिम्मा दिन्छन् ।

निर्माण क्षेत्रमा सफलता प्राप्त हुँदै जानथालेपछि सात वर्ष अघि गौमती र उहाँको श्रीमान सहविरले युवराज कन्ट्रक्सन निर्माण सेवा खोलेर मजुरबाट निर्माण व्यावसायी बन्नुभयो । पन्ध्रवर्ष अघि मजदुरका रुपमा निर्माण क्षेत्रमा प्रवेश गर्नुभएका दुबैजना अहिले विश्वासिलो,भरपर्दो र उदियमान निर्माण व्यावसायीको परिचय बनाउनुभएको छ ।


गौमती अहिले उक्त निर्माण कम्पनीको मुख्य सञ्चालक हुनुहुन्छ । महिलाले पनि निर्माण क्षेत्रको नेतृत्व गर्न सक्छन् भन्ने उदाहरण गौमतीले प्रस्तुत गर्नुभएको छ ।


निर्माण कम्पनीको सञ्चालक भएपनि गौमती भिरपहरामा सँगै मजदुरहरुसँग काम गर्नुहुन्छ । विगत पाँचवर्ष देखि राष्ट्रिय गौरबको आयोजना कालिगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको सबै भन्दा कठिन क्षेत्रमा काम गरिरहनुभएको छ । गजुरमुखी निर्माण सेवाको सहायक ठेकेदारका रुपमा उहाँले सबै भन्दा कठिन मानिएको काभ्रेभिरमा सडक निर्माणको काम गर्नुभयो ।


आयोजनाका सब–इन्जिनियर सोहनजंग कार्कीले निर्माण कम्पनीको सञ्चालक भएपनि गौमती आफै भिरमा झुण्डिएर मजदुरहरुसँगै काम गर्ने साहसी महिला भएको बताउनुभयो । ‘‘आयोजनाले जिम्मा लगाएको काम गुणस्तरीय र तवरले समयमै सम्पन्न गर्नुहुन्छ । मजदुरहरुको परिचालन,व्यवस्थापन र कामप्रति जिम्मेवारीबोध उहाँमा छ,’’ उहाँले भन्नुभयो । परिश्रमी भएकाले आयोजनाले उहाँलाई कामको जिम्मा दिने गरेको उहाँले बताउनुभयो ।


बेनी–जोमसोम सडक खण्डको बैसरी पहिरो रोकथामका लागि गौमती आयोजनाबाट ठेक्का लिएर यतिखेर ‘रक एङ्करिङ’ प्रविधि प्रयोग गरेर पहिरो रोकथामको काम गरिरहनुभएको आयोजनाका सब इन्जिनियर काकीले बताउनुभयो ।


रक कटिङका साथै कठिन भिरपहरामा काम गर्ने शिप आफू सँग भएकाले सडक निर्माण र जलविद्युत आयोजनाहरुले आफूलाई बोलाउने गरेको गौमतीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘महिलालाई निर्माण क्षेत्रमा काम गर्न निकै चुनौतीहरु छन् । काम गर्दै गयो भने कामले काम सिकाउने रहेछ । महिलाहरुले पनि निर्माण क्षेत्रमा काम गर्न सकिदो रहेछ भन्ने मलाई आशा जागेको छ ।’’ भविष्यमा एक नम्बरको निर्माण व्यावसायी बनेर देशको निर्माण क्षेत्रमा केही गर्ने योजना रहेको उहाँले सुनाउनुभयो ।
‘‘काम गरेको ठाउँमा समयमै भुक्तानी नपाउने समस्या छ । तर मजदुरहरुको पारिश्रमिक भुक्तानी गर्न ढिलासुस्ती गर्नुहुँदैन । त्यसका लागि ऋण खोजेर भएपनि मैले मजदुरहरुलाई भूक्तानी गर्ने गरेको छु,’’ उहाँले भन्नुभयो । निर्माण सेवाको पेशामा विभिन्न विकृति र विसंगतिहरु भएपनि यस पेशाबाट खुसी र अत्मसन्तुष्टी मिलेको उहाँले सुनाउनुभयो । विदेश जानुभन्दा आफ्नै देशमा केही गरौं भनेर निर्माण क्षेत्रमा भविष्य देखेर यही पेशा रोजेको उहाँको भनाई छ । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *