बेनीमा श्रीकृष्णले लाखेको बध गरेपछि ..(भिडिओ सहित)


ठाकुरप्रसाद आचार्य
म्याग्दी,भदौं २१ गते ।

बेनीका नेवार समुदायले एकमहिना अघि देखी सुरु गरेको बर्खे नाच हरितालिका तिजका दिन श्रीकृष्णले लाखेको बध गरेपछि समापन गरिएको छ । नेपाल भाषा मंकाःखलः र ल्यामः पुचःले संयुक्त रुपमा विभिन्न नाचहरु प्रदर्शन गरेका थिए ।


बेनीको संगमचोकमा तिजको साँझ श्रीकृष्ण र लाखेको नाच देखाइएको थियो । कृष्ण र लाखे बीचको लडाई नाचको अन्तिममा कृष्णले लाखेको बध गरेको देखाइएको थियो ।

नेवार संस्कृतिमध्ये बर्खे नाच अन्तर्गत हरेक वर्षको नाग पञ्चमीका दिनदेखि तीजसम्म बेनीमा विभिन्न नाचका साथै लाखे नाच देखाउने गरिन्छ ।
परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको भनिएको घण्टाकर्ण नाम गरेको राक्षसको प्रतिमालाई म्याग्दी नदी र कालीगण्डकीको दोभानमा लगेर विर्सजन गरिएपछि बेनीमा बर्खे नाच शुरु भएको थियो ।


एक महिनासम्म विभिन्न नाच देखाएर परम्परागत संस्कृति र पौराणिक महत्वलाई प्रदर्शन गरिन्छ । यस वर्ष लाखे नाच,घोडा नाच,जोगी नाच र नागानगिनी नाच प्रदर्शन गरिएको थियो ।


पति वियोगमा विक्षिप्त बनेकी घण्टाकर्णकी श्रीमतीको चरित्र लाखे नाचमा प्रदर्शन गरिन्छ । ठूला–ठूला आँखा भएकी, दाह्रा निस्केकी, जगल्टा फिँजाएकी देख्दै डरलाग्दी घण्टाकर्णकी श्रीमतीलाई लाखेको संज्ञा दिएर प्रदर्शन गरिने यो नाँच बेनीको प्रशिद्ध नाच हो ।

वर्खे नाचको शुरुवात लाखेको पति अर्थात् घण्टाकर्ण नामक राक्षसको पुत्ला दहन गरेर हुन्छ भने तीजको साँझमा दानवीयस्वरुपको लाखेलाई भगवान श्रीकृष्णरुपी शक्तिले बध गरेपछि यो नाचको हुने नेपाल भाषा मंकाःखलःका उपाध्यक्ष कुविरकुमार श्रेष्ठले बताउनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *