फोटो प्रतियोगितामा उत्साहजनक सहभागिता


ठाकुरप्रसाद आचार्य /बेनी
भदौं २० गते ।

एकहप्ता यता म्याग्दीवासीहरुको फेसबुक पेजमा नयाँ नयाँ तस्विरहरु शेयर भइरहेका छन् । म्याग्दीको पर्यटन प्रवद्र्धनका लागि आयोजित फोटो प्रतियोगितामा समावेश भएका तस्विहरुले सामाजिक सञ्जाल फेसबुक भरिएको छ । प्रतियोगितामा भाग लिएकाहरुले फोटोलाई लाइक,कमेन्ट र शेयर गरिदिन अनुरोध गरेका छन् । यस्तो अवसर मोना अष्ट्रेलियाले जुराइदिएको हो ।


विभिन्न पेशा,व्यवसाय र रोजगारीका लागि अष्ट्रेलियामा पुगेका म्याग्देलीहरुको संस्था मोना अष्ट्रेलिया र म्याग्दी उद्योग वाणिज्य संघको संयुक्त रुपमा आयोजना गरिएको फोटो प्रतियोगितामा विभिन्न संघसंस्था र व्यक्तिहरुले उत्साहजनक सहभागिता जनाएका छन् ।
भदौं १ गते देखि सुरु भएको फोटो प्रतियोगितामा बिहिबार साँझ सम्म १९७ जना प्रतियोगितले भाग लिएको छ । म्याग्दीको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको फोटो प्रतियोगितामा मौलिक कला संस्कृति,पर्यटकीय क्षेत्र र जनजिवन झल्कने विभिन्न फोटाहरुले प्रतिस्पर्धा गरेका छन् ।
मोना अष्ट्रेलियाको फेसबुक पेज मार्फत पर्यटकीय स्थल,मौलिक कला संस्कृति र जनजीवन झल्किने तस्विरहरु दैनिक रुपमा प्रकाशित भएको मोना अष्ट्रलियाका सदस्य एवम् प्रतियोगिताका संयोजक बाबुराम पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतियोगितामा भदौं २४ गते सम्म भाग लिने सकिने छ । म्याग्दी जिल्लाका तस्विरहरु जुनसुकै स्थानमा पनि बसोबास गर्नेहरुले प्रतियोगितामा भाग लिने सक्ने आयोजकले जनाएका छन् ।
प्रतियोगितामा प्रथम पुरस्कार एकलाख,द्धितीय ५० हजार र तृतीय पुरस्कार २५ हजार रुपियाँ निर्धारण गरिएको छ । अत्याधिक लाईक,कमेन्ट र शेयरमा नपरेका उत्कृष्ट फोटोहरु मध्य जुरी टिमको छनौंटमा उत्कृष्ट घोषणा गरिएको फोटोलाई च्याम्बर अवार्ड घोषित गरी ट्रफी मेडल र प्रमाणपत्र सहित नगद पचास हजार रुपियाँ प्रदान गरिने म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।
यसैगरी अत्याधिक लाइक,कमेन्ट र शेयरमा परेका फोटोहरु मध्य विधागत रुपमा छनौंट गरी प्रमाणपत्र र पाँचहजार नगद सहित पुरस्कृत गरिने आयोकजले जनाएका छन् ।
फोटो प्रतियोगितामा सहभागीले जिल्ला भित्रको कुनैपनि पर्यटकीय स्थल वा मौलिक कला संस्कृति झल्किने फोटोका वारेमा कम्तीमा एकसय देखि तीनसय शब्द सहित आफ्नो ठेगाना र नाम उल्लेख गरी पठाउनुपर्ने मोना अष्ट्रेलियाका प्रवक्ता हिक्मत श्रेष्ठले बताउनुभयो ।
फेसबुक पेजमा राखिएको उक्त फोटोलाई लाईक,शेयर र कमेन्टको आधारमा मुल्याङकन गरिने आयोजकले जनाएका छन् ।
पेशा व्यवसाय र रोजगारीका क्रममा विदेशमा रहेपनि आफ्नो जन्म भूमिको पर्यटन प्रवद्र्धनमा टेवा पुगोस् भनेर फोटो प्रतियोगिताको आयोजना गरिएको मोना अष्ट्रेलियाका अध्यक्ष इन्द्र थापा मगरले बताउनुभयो । फोटो प्रतियोगिताले म्याग्दीको पर्यटकीय स्थलहरुको संसारभर प्रचारप्रसार हुनुका साथै पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने विश्वास गरिएको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले बताउनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *