अपर म्याग्दी–१ जलविद्युत आयोजना निर्माण सुरु


विकल्प न्यूज/बेनी
भदौं १३ गते ।

म्याग्दीमा ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत आयोजना निर्माण शुरु भएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका–४ छहरीमा बुधबारदेखि आयोजनाको अडिट (मुख्य सुरुङ जाने प्रवेशमार्ग) निर्माण थालिएको हो । गण्डकी प्रदेशसभा सदस्य तथा पुर्व भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले बिस्फोट गराई सुरुङ निर्माण शुभारम्भ गर्नुभएको थियो ।

दुई सय सात मिटर लामो अडिट सुरुङ निर्माण सकेपछि बाँध र विद्युतगृहबाट पनि सुरुङ खनिने आयोजना प्रमुख ज्योतिकुमार केसीले बताउनुभयो । धवलागिरी गाउँपालिका–४ खाम्लामा रहने बाँध देखि मालिका गाउँपालिका–७ भरावाङ सम्म पाँच हजार सात सय मिटर लामो सुरुङ निर्माणको काम आगामी ३० महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

“बाँध, विद्युतगृह र सुरुङ निर्माणको काम समानान्तर हिसाबले अघि बढेको छ,” आयोजना प्रमुख केसीले भन्नुभयो “आयोजनाबाट वि.स. २०८३ फागुन महिनामा विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ ।” रन अफ द रिभर प्रकृतिको आयोजनाको आउटलेट देखि विद्युतगृहको उचाई १९६ मिटर रहेको छ ।

रु. १२ अरब लागत अनुमान गरिएको यस आयोजनाको प्रर्वद्धक अपर म्याग्दी जलविद्युत कम्पनी लिमिटेड हो । कम्पनीका कार्यकारी अध्यक्ष भानुभक्त पोखरेलले सानिमा बैंकको नेतृत्वमा विभिन्न बैंकहरुले कुल लागतको ७५ प्रतिशत लगानी रहने आयोजनामा प्रर्वद्धक र संस्थापक सेयर आव्हान गरेर २५ प्रतिशत लगानी जुटाइने बताउनुभयो ।

जलविद्युत आयोजनाहरुको प्रर्वद्धक कम्पनी उर्जा डेभलपर्स प्रा.ली. मार्फत एक हजार मेगावाट क्षमताका आयोजना निर्माण गर्ने लक्ष्य अनुसार अपर म्याग्दी–१ बनाउन लागिएको पोखरेलले बताउनुभयो । निर्माण कम्पनी लुना बिल्डर्स एण्ड कन्ट्याक्टर प्रा.ली.ले सुरुङसँगै अन्य संरचना निर्माणलाई तिब्रता दिने जनाएको छ ।

नौ किलोमिटर पहुँचमार्ग बनाएको यस आयोजनाले भारवाङ, छहरी र खाम्लामा क्याम्प राखेको छ । छहरीमा नेपाली सेनाको सुरक्षा क्याम्प राखिएको छ । रातोढुङ्गा देखि खाम्ला सम्म १९ किलोमिटर ३३ केभी क्षमताको प्रशारण लाइन बनाएर आयोजना निर्माणका लागि विद्युत आपुर्ति गरेको छ । अपर म्याग्दी–१ बाट उत्पादन हुने विद्युत मालिका गाउँपालिका–७ डाडाखेतमा निर्माणाधिन १३२ केभी क्षमताको सव स्टेशनबाट केन्द्रिय ग्रिडमा जोडिनेछ ।