भदौ १० गते ।
म्याग्दी सदरमुकाम बेनीबाट गलेश्वरतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् । बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तर्गत बेनी नगरपालिका–६ स्थित गलेश्वर नजिकै ठूलोबौरमा सोमबार साँझ ५:३० बजे ना ५ ख २८९८ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो । दुर्घटनामा चालकसहित चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीकाअनुसार रघुगंगा गाउँपालिका–१, तिप्ल्याङका ३० वर्षीय चालक रमेश खड्का, सोही वडा बेगखोलाका सहचालक २८ वर्षीय धनकुमार बुढा, तिप्ल्याङकै २८ वर्षीय रोशन पुर्जा र रघुगंगा गाउँपालिका–३, पिप्लेका २९ वर्षीय भुमिराज रानामगर रहनुभएको छ ।
रोशन गम्भीर घाइते हुनुभएको छ भने चालक रमेश र भुमिराजको अवस्था मध्यम रहेको छ । त्यस्तै सहचालक धनकुमारको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको टाउको, हात, खुट्टा लगायत शरिरका विभिन्न ठाउँमा चोट लागेको छ । घाइतेहरुको बेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सडक छेउमा ठोक्किएर बस अचानक सडकमा पल्टिएको थियो ।