ठाकुरप्रसाद आचार्य
म्याग्दी,भदौं ९ गते ।
शनिबार राती परेको अविरल वर्षाका कारण बेनी–बागलुङ सडक खण्ड अन्तर्गत बेनी नगरपालिका १ हुलाके भन्ने स्थानमा ठाडोखोलामा बाढी आउँदा गाडी सडक देखि करिब दश मिटर तल बगाएको छ । बाढीले करिब ६० मिटर सडक भत्किएको कारण सडक अवरुद्ध भएको छ ।
शनिबार पोखरा देखि बेनी आउँदै गरेको निजी नम्बर प्लेटको ग २ च ९३५५ नम्बरको स्कार्पियो गाडी हुलाके भन्ने स्थानमा बाढीसँगै बगेको र कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक राजन रायमाजीले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीले गाडी बगाएको भन्ने सूचना पाएपछि राती नै प्रहरी टोली उद्दारका लागि पुगेको थियो ।
सडकमा बाढी आएको देखेपछि गाडी चालक र यात्रु झरेका कारण मानविय क्षति हुनबाट जोगिएको उहाँले बताउनुभयो । गाडी बेनी नगरपालिका वडा नम्बर ७ का पूर्व वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको हो । शनिबार दिउँसो पोखरामा आयोजना भएको नेवार समुदायको कार्यक्रमका लागि बेनीबाट कलाकार सहितको टोली गएको थियो ।
पोखरामा आयोजना भएको एक कार्यक्रममा नेवार समुदायको कला संस्कृति प्रदर्शन गर्न बेनीबाट गएका थियौं पूर्व वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘‘राती बेनी फर्किने क्रममा भारी वर्षा भइरहेको थियो । हुलाकेमा आइपुग्दा रातको १२ बजेको थियो । सडकमा ठूलो खोला नै बगेको देखियो । गाडीलाई खोला तार्न सकिएन । हामीहरु गाडीबाट झ¥यौं । एकछिन पछि बाढीले सडक सहित गाडी पनि बगायो ।’’
स्र्कापियोका चालक जेनेश श्रेष्ठले भाग्यले बाँचेको बताउनुभयो । ‘‘मध्यराती भएको थियो,अविरल वर्षा भइरहेको थियो । हुलाकेमा आइपुग्दा बाढीमा परियो,’’ उहाँले भन्नुभयो । ठाडो खोलामा राती बाढी आएका कारण रातभर जाग्राम बसेको स्थानीयवासी कमला खत्रीले बताउनुभयो । सडक अवरुद्ध हुँदा बेनी देखि बागलुङ हुँदै पोखरा काठमाण्डौं जाने सवारीसाधन बेनीमा रोकिएका छन् ।
यसैगरी पहिरो खसेका कारण बेनी–जोमसोम सडक,बेनी–दरबाङ सडक र बेनी–मालढुङ्गा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
बाढीले बगाएको गाडी र भत्किएको सडक । तस्विर ठाकुरप्रसाद आचार्य