मिना हत्या काण्ड ः प्रहरीबाट अनुशन्धानमा चासो नदिएको गुनासो (भिडियो)


विकल्प न्यूज/बेनी
भदौं,७ गते ।

संयुक्त राजनीतिक दलित संघर्ष समिति म्याग्दीले मिना हत्या काण्डमा प्रहरी प्रशासनबाट गहिरो तवरले छानविन र अनुशन्धान गरी आपराधीलाई कानूनी कठघरामा ल्याउने प्रक्रियामा प्रहरी प्रशासनले गम्भिरतापूर्वक रुपमा नलिएको बताएको छ । शुक्रबार बेनीमा आयोजना गरिएको पत्रकार सम्मेलमा दलित अधिकारकर्मीहरुले प्रहरी प्रशासनबाट सहयोग नपाएको गुनासो गरे ।


बेनी नगरपालिका– ९ की मिना परियार २०८० पुस १६ गते राती ११ बजे देखि बेपत्ता हुनुभएको थियो । बेपत्ता परियारको सत्यतथ्य पत्ता लगाउन समेत प्रहरीले चासो नदिएको उहाँहरुको भनाई थियो । म्याग्दीको बेनी नगरपालिका–९, गिठीनीस्थित ठुलोखोलाको जंगलमा गत साउन २७ गते गाडिएको अवस्थामा फेला परेको सडेको शव बेपत्ता परियारकै भएको आफन्त र परिवारहरुले बताएका छन् ।


मिना परियारको हत्याराहरुलाई कडा कारबाहीको माग गर्दै बेनीमा चरणवद्ध रुपमा दलितअधिकारकर्मी संघसंस्थाहरुले आन्दोलन गर्दै आएका छन् ।


वेपत्ता बनाएर हत्या गर्नेहरुलाई कडा कारबाही नगरे ससक्त आन्दोलन गर्ने घोषणा उनीहरुले घोषणा गरेका छन् । मिनासंग प्रेम सम्बन्धमा रहेका राम खत्रीकै संलग्नतामा परियारको हत्या भएको र उक्त घटनामा संलग्न सबैलाई यथासक्य कारबाही गर्न उनीहरुले माग समेत गरेका छन् ।


पीडित पक्षले साउन ३० गते चार जनाका विरुद्धमा किटानी जाहेरी दिएका छन् । शवको पोस्टमार्टम साउन ३१ गते गण्डकी अस्पताल पोखरामा भएको थियो भने जाहेरी परेका तीन जनालाई गिरफ्तार गरिसकिएको प्रहरीले जनाएको छ ।


स्थानीय २१ वर्षीय राम खत्रीविरुद्ध किटानीसहित व्यक्ति बेपत्ता गरेको भन्दै उजुरी परेपछि खत्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । अदालतबाट पुर्जी जारी भएकै दिन खत्रीलाई गिरफ्तार गरी अनुसन्धान गरी प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय म्याग्दीले २०८० फागुन १७ गते मुलुकी फौजदारी कार्यविधि संहिता–२०७४ को दफा २०६ बमोजिम व्यक्ति बेपत्ता पारेको अभियोगपत्र जिल्ला अदालत म्याग्दीमा दायर गरेको थियो । अदालतमा दायर भएको अभियोगपत्रबमोजिम खत्रीलाई जिल्ला अदालत म्याग्दीले २०८० फागुन १७ गते नै पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।