विकल्प न्यूज/बेनी
साउन ३२ गते ।
पर्वतको जलजला गाउँपालिका ३ पर्वत बेनीमा रहेको बेनी बजार आधारभूत विद्यालयले चन्दा दातालाई सम्मान,छात्रावृत्ती वितरण, र शैक्षिक गुणस्तर वृद्धिका लागि शैक्षिक अन्तरक्रिया कार्यक्रम गरेको छ । शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा अभिभावक र सरोकारवालाहरुले शैक्षिक गुणस्तर वृद्धि,पूर्वाधार निर्माण र विद्यालयको व्यवस्थापन लगायतका विषयमा विचार राखेका थिए ।
कार्यक्रममा जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले गाउँपालिकाले थालेको शैक्षिक गुणस्तर वृद्धिको अभियानलाई अभिभावकहरुले सहयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । विद्यालयको भौतिक पूर्वाधार निर्माण र शैक्षिक गुणस्तर वृद्धिका लागि गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमा वडा नम्बर ३ का वडाध्यक्ष एकिन्द्र खत्री,राजनीतिक दलका प्रतिनिधि,सरोकारवाला र अभिभावकहरुले शैक्षिक गुणस्तर वृद्धिका विषयमा विचार व्यक्त गर्नुभएको थियो । विद्यार्थीहरुलाई पोसाक पोसाक वितरण गरिएको थियो ।
पोसाक खरिदका लागि स्थानीय नरेन्द्र थापा र उहाँको श्रीमती शिक्षक ज्ञानुथापाले ५५ हजार पाँचसय ५५ रुपियाँ विद्यालयलाई सहयोग गर्नुभएको प्रधानाध्यापक संगीता घर्ती क्षेत्रीले जानकारी दिनुभयो । शिक्षीका थापा विद्यालयबाट सेवानिवृत्त हुँदा उक्त सहयोग गर्नुभएको हो ।
सहयोगदाता थापा परिवारलाई विद्यालयले सम्मान गरेको छ । विद्यालयबाट विदाई भएर जानुभएका शिक्षक मानबहादुर थापाले दश हजार रुपियाँ सहयोग गर्नुभएको छ । कार्यक्रमा दलित विद्यार्थीहरुका लागि गाउँपालिकाबाट प्राप्त भएको छात्रावृत्तीको रकम समेत वितरण गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुरप्रसाद रेग्मीको अध्यक्षता,प्रअ क्षेत्रीको सञ्चालन र शिक्षक यामप्रसाद तिवारीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।