ठाकुरप्रसाद आचार्य / बेनी
साउन २९ गते ।
म्याग्दीको बेनी नगरपालिका ९,स्थित प्रशिद्ध धार्मिक स्थल गलेश्वरधाम शिवालयमा साउन महिनामा १५ लाख बढी भेटी संकलन भएको छ ।
साउन महिनामा परेका चारवटा सोमबारमा गलेश्वर शिवालय दर्शन तथा पूजाअर्चना गर्न आएका भक्तजन तथा श्रद्धालुहरुबाट १५ लाख दश हजार सातसय २४ रुपियाँ भेटी संकलन भएको हो ।
यस वर्ष साउनको पहिलो सोमबार ३ लाख ७२ हजार तीनसय ७२, दोस्रो सोमबार तीन लाख ३६ हजार एकसय ८५ रुपियाँ र तेस्रो सोमबार तीन लाख ६६ हजार दुईसय रुपियाँ संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले जानकारी दिनुभयो ।
ADV
यसै गरी,साउन महिनाको अन्तिम चौथो सोमबार ४ लाख ३५ हजार ९ सय ६७ रुपियाँ संकलन भएको उहाँले जानकारी दिनुभयो । यसपटकको साउन महिनाको सोमबार मौसम अनुकुल भएकाले गलेश्वर शिवालयमा भक्तजनहरुको आगमन बढेको कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘यसपटकको साउने सोमबार करिब एकलाख भक्तजनले गलेश्वर शिवालयको दर्शन गरेको अनुमान गरेका छौं । भक्तजनहरुलाई सहज र सरल तरिकाले पूजाआजा र दर्शनको राम्रो व्यवस्था मिलाएका थियौं । साउन महिनामा भारतीय भक्तजनहरु पनि उल्लेख्य मात्रामा आएका छन् । साउनको प्रत्येक सोमबार करिब २५ हजारको अनुपातमा भक्तजनहरुले शिवालयको दर्शन गरेको अनुमान छ ।’’
मन्दिरमा संकलन भएको भेटी क्षेत्र विकास कोषका पदाधिकारी, कर्मचारी, गलेश्वर आमा समूह, प्रहरी र स्थानीयवासीको उपस्थितिमा सामूहिक रूपमा गणना गरी भेटी सार्वजनिक गर्ने गरिएको कोषका अध्यक्ष रेग्मीले बताउनुभयो ।
गलेश्वरमा साउने सोमबार, बालाचतुर्दशी, महाशिवरात्री लगायत ठूला पर्वमा सोको भोलिपल्टै र अन्य समयमा हरेक महिनामा भेटी गनेर सार्वजनिक गर्ने प्रचलन छ ।
मुक्तिनाथको प्रवेशद्धारका रुपमा परिचित गलेश्वरधाम कृष्णागण्डकीबाट उठेर ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयं उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहेको छ । गलेश्वर मन्दिरको दर्शन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।