पर्वत बाहिर रहेका सदस्यलाई संगठित गर्दै एमाले


विकल्प न्यूज/पर्वत
साउन २८ गते ।


नेकपा (एमाले) पर्वतले जिल्ला बाहिर रहेका पार्टी सदस्यहरुलाई संगठित गर्ने अभियान शुरु गरेको छ । एमालेको जिल्ला कमिटिले पर्वत जिल्लामा मतदाता रहे पनि देशका विभिन्न स्थानहरुमा बसोबास गर्दै आएका एमाले समर्थित कार्यकर्ताहरुलाई संगठीत गर्ने अभियानको शुरुवात गरेको हो । विभिन्न पेशा,व्यवसाय र रोजगारीका क्रममा जिल्ला बाहिर रहेका पार्टी सदस्यलाई संगठीत गर्ने,राय सुझाव लिनका लागि जिल्ला कमिटी पर्वतले अभियानको सुरुवात गरेको हो ।

अभियान अन्तर्गत चितवन, नवलपुर, बुटवल र पोखरामा भेलाहरु सम्पन्न भईसकेका छन् । एमालेले देशका ४ ठाउँहरुमा आयोजना गरेको भेलामा पर्वत जिल्ला घर भई पेशा तथा व्यवसायका सन्दर्भमा ति स्थानहरुमा बसोबास गर्दै आइरहेका पार्टी सदस्य तथा शुभेच्छुकलाई भेला गरी संगठित गरेको एमाले जिल्ला अध्यक्ष गोविन्द पहाडीले जानकारी दिनुभयो । पहाडीका अनुसार भेलामा जिल्लाबासी एमाले कार्यकर्ताहरुको उत्साजनक सहभागीता रहेको थियो । भेलाले तदर्थ समितिहरुको समेत गठन गरेको हो ।

पोखरामा गत शनिवार आयोजीत भेलाले महेश शर्मा लामिछानको अध्क्षतामा ५९ सदस्यीय कमिटि गठन भएको छ । यसैगरी चितवनमा नेत्रप्रसाद शर्माको संयोजकत्वमा समिति गठन भएको छ । नवलपुर जिल्लामा रहेका पर्वतेलीहरुको भेलाले टिकाराम भुषालको संयोजकत्वमा र बुटवलमा भएको भेलाले वेद गिरीको संयोजकत्वमा सम्पर्क समाजको गठन गरेको छ ।

निर्वाचनको समयमा मात्र होइन, अरु बेलाका सुःख दुःखमा पनि कार्यकर्ताको खोजी पाटीले गरीराखेको छ, भन्ने सन्देश दिनका लागि जिल्लाहरुमा सम्पर्क समाजको धारणा ल्याएको एमाले जिल्ला उपाध्यक्ष बिमल लामिछानेको भनाई छ ।

विधानत् जिल्ला जिल्लामा हुने सम्पर्क समाज गठनको प्रावधान नभए पनि निर्वाचनको बेलामा मात्र खोजी हुने कार्यकर्ताहरुलाई निर्वाचन पूर्व नै खोजी कार्य गरी संगठीत गरिएको एमाले जिल्ला सचिव सुवासचन्द्र पौडेल बताउनुभयो ।

एमाले केन्द्रिय सदस्य तथा पर्वत इन्चार्ज पदम गिरीको उपस्थितीमा सवै जिल्लाहरुमा भेलाहरु सम्पन्न भएको छ । पूर्व मन्त्री समेत रहेका गिरीले पार्टी कार्यकर्ताहरु वीच थप आत्मियतामा बृद्धि हुने विश्वास लिएका छन् । गठन भएका सवै सम्पर्क समाजले पार्टी संगठनका काम संगै पर्वतेली समुदायको हक, हित र सहयोग आदानप्रदानमा समेत भूमिका निर्वाह गर्ने गिरीले बताउनुभयो ।