ठाकुरप्रसाद आचार्य/बेनी
साउन २८ गते ।
म्याग्दीको प्रशिद्ध धार्मिक स्थल गलेश्वरधाममा साउन महिनाको चौथो सोमबार सम्म करिब एकलाख भक्तजनले दर्शन गरेका छन् ।
बेनी नगरपालिका ९,गलेश्वरमा अवस्थित गलेश्वर मन्दिरमा साउन महिनाको पहिलो सोमबार देखि अन्तिम सोमबार आज सम्म उक्त संख्यामा भक्तजनहरुहरुले दर्शन,पूजाआजा र भ्रमण गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।
साउन महिनामा उल्लेख्य मात्रामा भक्तजनहरुले गलेश्वर शिवालय मन्दिरको दर्शन गर्नुभयो छ कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले भन्नुभयो, ‘‘साउन महिनाका प्रत्येक सोमबार करिब २५ हजार भन्दा बढी भक्तजनले मन्दिरको दर्शन गर्नुभएको अनुमान छ । गलेश्वर शिवालयको महत्व र महिमाका बारेमा पछिल्ला केही वर्ष यता प्रचारप्रसार राम्रो भएकाले भक्तजनहरुको आगमन बढ्दै गएको छ ।’’
साउन महिनामा चार वटा सोमबारहरुमा उत्साहजनक रुपमा भक्तजनहरु आएको कोषका अध्यक्ष रेग्मीले बताउनुभयो । साउन महिनामा मक्तिनाथ दर्शनका लागि आएका भारतीय भक्तजनहरु मध्य अधिकांशले गलेश्वर मन्दिरमा पनि पूजाआजा गरेको उहाँको भनाई छ ।
भक्तजनको सुविधाका लागि गलेश्वर क्षेत्रविकास कोषले निःशुल्क धर्मशालाको व्यवस्था समेत गरेको छ । गलेश्वरमा धार्मिक पर्यटक बढ्नु सकारात्मक सन्देश भएको कोषका अध्यक्ष रेग्मीले बताउनुभयो ।
ऐतिहासिक र पौराणिक दृष्टिले महत्वपूर्ण मानिएको गलेश्वरधाम रघुगंगा र कालीगण्डकी नदीको सङ्गमस्थलमा ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्रशिलामाथि अवस्थित छ । गलेश्वरधामको दर्शन र पूजाआजा गरेमा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ ।
गलेश्वरधामको दर्शन गर्नका लागि म्याग्दीसंगै, बागलुङ, पर्वत, कास्की,काठमाण्डौं,चितवन ,स्याङ्जा लगायतका जिल्लाहरुबाट भक्तजनहरु आउने गर्दछन् । मन्दिर दर्शनलाई व्यवस्थित बनाउन नेपाल प्रहरी, विभिन्न विद्यालय तथा क्याम्पसमा अध्ययन गर्ने विद्यार्थी, क्लब,आमा समुह लगायत विभिन्न संघ संस्थाहरुले स्वयमसेवकको रुपमा सहयोग गरेका छन् ।