पहिरोले बेनी–दरबाङ सडक अवरुद्ध

म्याग्दी, साउन २६ गते । 

सडकमा खसेको पहिरो । तस्विर सूर्यकिरण न्यौपाने

सडक माथिबाट खसेको पहिरोले म्याग्दीको सदरमुकाम जोड्ने बेनी–दरबाङ सडकमा सिधा यातायात अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार, बेनी–दरबाङ सडक अन्तर्गत मङ्गला गाउँपालिका–२,स्थित पानाबगर र खहरे खोलाको बिच भागमा पहिरो खसेको हो  । 

शुक्रवार साँझ पहिरो खसेको र अहिले सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन रायमाझीले जानकारी दिनुभयो । बेनी नगरपालिका–४,र मङ्गला गाउँपालिका–२,को सिमानामा पर्ने फापरखेत तथा मालिका गाउँपालिका–६,स्थित बाङ्गे पहिरोमा खसेको पहिरोले पनि पटक पटक सडक अवरुद्ध हुने गरेको छ । 

सडक अवरुद्ध भएपछि आवतजावत र ढुवानीमा समेत समस्या भएको स्थानीय श्रीराम पौड्यालले बताउनुभयो । बेनी–दरबाङ सडकमा सिधा यातायात अवरुद्ध हुँदा जिल्लाका धवलागिरि ,मालिका र मङ्गला गाउँपालिका सहित छिमेकी जिल्ला बागलुङको पश्चिम भेगका नागरिकले समेत सास्ती व्यहोर्नु परेकोे छ ।