जलजलाको निशुल्क एम्बुलेन्स सेवाबाट लक्षितबर्ग खुसी

ठाकुरप्रसाद आचार्य
साउन २२ गते ।

जलजला गाउँपालिका ७ धाइरिङका ७४ वर्षीय चन्द्रे परियारलाई उपचारका लागि पोखराको अस्पतालमा पुग्ने र फर्किने पैसा जुटाउने चिन्ता थियो । टाउकाको अप्रेशन गर्नुभएका परियारलाई जलजला गाउँपालिकाले संचालन गरेको निशुल्क एम्बुलेन्सले घरबाट पोखरा स्थित अस्पताल लैजाने र ल्याउने सेवा प्रदान ग¥यो । पालिकाले सञ्चालन गरेको निशुल्क एम्बुलेन्स सेवा पाएपछि परियारको मुहारमा खुसी छायो ।

परियारले भन्नुभयो, ‘‘लोकतन्त्र आएपछि काठमाण्डौंको सिंहदरबार गाउँघरमा आयो भनेको सुनेको थिएँ, बल्ल सिंहदरबारको अनूभूती भयो ।’’ स्थानीय सरकारले यस्तै लोककल्याणकारी कामहरु गरेमा लोकतन्त्र बलियो हुने उहाँको सुझाव थियो ।

यस्तै बागलुङ अस्पतालमा सुत्केरी हुनुभएकी वडा नम्बर ३ की अस्मिता सुवेदीले पालिकाले संचालन गरेको निशुल्क एम्बुलेन्स सेवाको उपयोग गरेर घर फर्किनुभयो । वडा नम्बर ४ की मनकुमारी परियार पैसाको अभावमा उपचारका लागि अस्पताल सम्म पुग्न नसकी घरमै बसेको खबर पाएपछि पालिका उपाध्यक्ष दिपक आचार्य एम्बुलेन्स लिएर परियारको घरमा पुग्नुभयो । निशुल्क एम्बुलेन्स सेवा प्रयोग गरेर परियारले बेनी अस्पतालमा पुगेर उपचार गर्नुभयो ।

जलजला गाउँपालिकाले यही साउन १० गते देखि संचालन गरेको निशुल्क एम्बुलेन्स सेवा गर्भवती,सुत्केरी महिलाई,ज्येष्ठ नागरिक,असाहय गरिब तथा विपन्न र अपाङ्गता भएका नागरिकहरुलाई बरदान सावित भएको छ । १२ दिनको अवधिमा चारजना सुत्केरी,असाहय,ज्येष्ठ नागरिक र अपाङ्ग एक÷एक जनाले सेवा लिएका छन् । भने १३ जना अन्यले सुलभ भाडा दरमा एम्बुलेन्स सेवा लिएको गाउँपालिकाले जनाएको छ ।

पालिकाले निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेपछि निजी सवारीसाधन भनेको बेलामा नपाइने,महंगो शुल्क तिर्नुपर्ने र गाडी भाडाको अभावमा समयमा उपचारबाट बञ्चित हुनुपर्ने अवस्थाको अन्त्य भएपछि स्थानीय सरकारको अनूभूति भएको पालिकावासीहरुको भनाई छ ।

निजी सवारीसाधनहरुले चर्को भाडा लिने तथा गाउँघरमा यातायातका साधनको पनि अभाव हुने हुँदा गर्भवती,सुत्केरी,ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिहरु उपचारका लागि अस्पताल सम्म पुग्न असहज भएकाले गाउँपालिकाले निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको पालिका अध्यक्ष आचार्यले बताउनुभयो ।

तोकिएको समयमा गर्भजाँच, स्वास्थ्य संस्थामा सुरक्षित प्रसुति सेवामा पहुँच बढाएर मातृ शिशु मृत्युदर घटाउने र नागरिकको स्वस्थ्य अवस्थामा सुधार ल्याउन प्राथमिकता दिएका छौ पालिका अध्यक्ष आचार्यले भन्नुभयो, ‘‘जेष्ठ नागरिक, असाहय गरिब र अपाङ्गता भएकाहरुको स्वास्थ्य सेवामा पहुँच बढाउन निशुल्क एम्बुलेन्स सेवा प्रभावकारी भएको छ ।’’

एम्बुलेन्स, विपद् ब्यवस्थापन, सेवा प्रवाह, गुनासोलाई ब्यवस्थापन गर्न लामाखेत स्थित गाउँपालिका कार्यालय परिसरमा सचिवालय संचालन गरिएको प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले बताउनुभयो । वडा कार्यालयको सिफारिसमा सचिवालयका कर्मचारीहरुले समन्वय गरेर एम्बुलेन्स सेवा उपलब्ध गराउने, विपद् ब्यवस्थापन र सेवा प्रवाहमा सहजिकरण गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

सेवालाई प्रभावकारी बनाउन पैसा नलाग्ने १८१०५०००१६८ नम्बरको टोलफ्रिका साथै एम्बुलेन्स चालकलाई २४ सै घण्टा तयारी अवस्थामा राखिएको गाउँपालिकाले जनाएको छ । प्रवासी नाग्लीवाङवासीहरुको सहयोगमा खरिद गरिएको ग १ झ ६१६ र भारतीय दुतावासले उपलब्ध गराएको ध १ झ ३७ नम्बरको एम्बुलेन्स सञ्चालनका लागि छुट्टै समिति र खाता सञ्चालन भएको छ ।

लक्षित समुदायमा नपर्नेको हकमा सरकारले बनाएको मापदण्ड अनुसार एम्बुलेन्सको भाडादर निर्धारण गरिएको र लक्षित समुदायलाई सेवा दिएको रकम सोधभर्ना गाउँपालिकाको कोषबाट गरिने प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताउनुभयो । गाउँपालिकाको एम्बुलेन्सलाई जिपिएस मार्फत सर्वसाधारणले पनि पत्ता लगाउन सक्ने प्रबिधि जडान भएको छ । निशुल्क एम्बुलेन्स सेवाका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा ५ लाख रुपियाँ बजेट बिनियोजन गरेको छ ।