ठाकुरप्रसाद आचार्य \बेनी
साउन २१ गते ।
खानेपानीको समस्या भोग्दै आएका बेनी नगरपालिका २ ज्यामरुककोटका स्थानीयहरु गाउँमा पानी संकलन गर्ने ठूलो ट्याङ्की निर्माण भएपछि पिउने पानीको समस्याबाट मुक्त हुने आशामा खुसी थिए । तर प्रयाप्त मात्रामा बजेट नआउँदा अहिले योजना अलपत्र जस्तै परेको छ ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले आर्थिक वर्ष २०७९÷८० मा ज्यामरुककोटका दुईसय पचास घरधुरीमा ‘एक घर एक धारा’ योजना अनुसार ज्यामरुककोट–ठूलो खोला राताभिर लिफ्ट खानेपानी योजना संचालन गरेको थियो । ठूलो खोलाबाट लिफ्टिङ प्रविधिबाट गाउँको शिरमा रहेको ज्यामरुककोटको डाँडामा निर्माण गरिने ट्याङ्कीमा पानी जम्मा गरेर गाउँमा वितरण गर्ने योजना हो ।
योजनामा पहिलो वर्ष एउटा मात्र पानी संकलन गर्ने ट्याङ्की निर्माण भएको वडाध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो । वडाको भकुण्डे,फापरखेत र अर्जमको ठूलो वस्तीलाई खानेपानी सुविधा विस्तारका लागि योजना संचालन भएपनि रकम अभावमा कार्यन्वयनमा समस्या भएको उहाँको भनाई छ ।
योजनाको कुल लागत दश करोड ९४ लाख ८० हजार रुपियाँमा रहेकोमा पहिलो वर्ष ४५ लाख रुपियाँ खर्च गरेर उपभोक्ता समिति मार्फत दुईसय घनमिटरको पानी संकलन ट्याङ्की निर्माण गरिएको थियो । योजना संचालन भएको एकवर्ष पछि आर्थिक वर्ष २०८०÷८१ मा संघीय खानेपानीबाट योजना कार्यन्वयनका लागि गण्डकी प्रदेश सरकार मातहतको खानेपानी,जलस्रोत तथा सिंचाई विकास डिजिन कार्यालय म्याग्दीमा हस्तान्तरण भयो ।
गत आर्थिक वर्षमा उक्त कार्यालयले योजना कार्यन्वयन गर्न सकेन । योजना कुल लागत ठूलो भएको र प्रयाप्त मात्रामा बजेट विनियोजन नभएकाले योजना कार्यान्वयनमा समस्या भएको कार्यालयको भनाई छ । चालु आर्थिक वर्षमा उक्त योजना फेरी संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना मातहत आएको कार्यालयका इन्जिनियर नविन सुवेदीले बताउनुभयो ।
ठूलो लागतका योजनाहरु स्विकृत गर्ने तर न्यून बजेट पठाउने प्रवृत्तिले योजना कार्यन्वयनमा समस्या भएको इन्जिनियर सुवेदीले बताउनुभयो । यो योजनाको अघिल्लो आर्थिक वर्षकै १५ लाख रुपियाँ भूक्तानी गर्न वाँकी छ उहाँले भन्नुभयो, ‘‘चालु आर्थिक वर्षका लागि ५ लाख रुपियाँ बजेट विनियोजन भएको छ । यसरी योजना कार्यन्वयन गर्न समस्या हुन्छ ।’’
हिउँदका ६ महिना पिउने पानीको समस्यालाई समाधान गर्न लिफ्टिङ प्रविधिको योजना माग गरेको तर सम्बन्धित निकायबाट आवश्यक मात्रामा बजेट विनियोजन नहुँदा योजना अलपत्र जस्तै परेको वडाध्यक्ष कार्कीले बताउनुभयो ।