अन्नपूर्णका किसानलाई ‘कृषि एम्बुलेन्स’


ठाकुरप्रसाद आचार्य
साउन १४ गते ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले किसानले उत्पादन गरेको कृषि उपजको ढुवानीका लागि कृषि एम्बुलेन्सको व्यवस्था गरेको छ । संघीय सरकार र गाउँपालिकाको लागत साझेदारीमा ३६ लाख १२ हजार रुपियाँमा एम्बुलेन्स तयार पारेर संचालन गर्न लागेको हो । कृषि एम्बुलेन्स सञ्चालन हुने भएपछि विकट वस्तीका किसानहरु उत्साहित भएका छन् ।

गाउँपालिका भित्रका किसानले उत्पादन गरेको कृषि उपजको बिक्रीका लागि बजारसम्म पु¥याउन सहज होस् भनेर गाउँपालिकाले कषि एम्बुलेन्स संचालन गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । ‘‘कृषि एम्बुलेन्स तयार भएर आइसकेको छ । गाउँपालिकाले कार्यबिधी बनाएर केही दिनभित्रमा संचालनमा ल्याउने छौं,’’ उहाँले भन्नुभयो ।

उहाँका अनुसार एम्बुलेन्सका लागि गत आर्थिक वर्ष २०८०÷०८१ मा संघीय सरकारबाट प्राप्त भएको १९ लाख ८० हजार र गाउँपालिकाको १७ लाख ३२ हजार रुपियाँ खर्च भएको छ । २५ लाख ७० हजार रुपियाँमा खरिद गरिएको गाडीमा कुलिङ स्टिम प्रविधि र एसोसेरिट जडान गर्दा दश लाख ४२ हजार रुपियाँ खर्च भएको प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो ।
किसानले उत्पादन गरेको दूध,ताजा तरकारी,आलु,सुन्तला लगायतका कृषि उत्पादनको बजारीकरणमा सहयोग पु¥याउन पालिकाले कृषि एम्बुलेन्सको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘गाउँपालिकाको दुर्गम भेगमा किसानले उत्पादन गरेको कृषि उपजले बजार नपाउँदा त्यसै खेर जाने अवस्था छ । कृषि उपजको बजारीकरण गरी किसानलाई प्रोत्साहन र कृषि क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याउन पालिकाले कृषि एम्बुलेन्स संचालन गरेका हौंं ।’’

कृषि एम्बुलेन्सले पालिकाका विभिन्न वडामा पुगेर किसानले उत्पादन गरेको कृषि उपजको ढुवानी गर्ने उहाँले बताउनुभयो । किसानलाई सहज रुपमा तरकरी, फलफूल, दुध, माछा मासु तथा अन्य उपभोग्य सामग्री बिक्री गर्न र उपभोक्तालाई पनि सहुलियत दरमा खरिद गर्न सजिलो होस् भनेर कृषि एम्बुलेन्स सञ्चालन गरिएको पालिका अध्यक्ष पुनको भनाई छ ।
कृषि एम्बुलेन्सका लागि सिङ्गल क्यापको बोलेरो जीप खरिद गरी कृषि उपज सढ्नेगल्ने नहोस भनेर एसी समेत जडान गरिएको छ । साभारः गोरखापत्र अनलाइन